पहिरोले डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध

बेँसीशहर नगरपालिका–१ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले खुल्न समय लाग्ने प्रहरीले जनाएको छ।

फाइल तस्वीर।

लमजुङ– अविरल वर्षासँगै पहिरो खस्दा डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए।  

सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीशहरतर्फको सवारी आवागमन बन्द भएको छ। बाटोमा सयौँ यात्री अलपत्र परेका छन्। यसअघि गत असार ४ गते पनि पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको थियो।