अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता, मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुख्यसचिव अर्यालसमेत १२ जनाविरुद्ध विशे‍ष अदालतमा मुद्दा दायर गरेको छ। 

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार काठमाडौँस्थित विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध आरोप पत्र दायर गरेको हो। 

अख्तियारले अन्तःशुल्क स्टिकर छपाइमा आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरूविरुद्ध आरोप पत्र दायर गरेको हो। सञ्चारसचिव रहँदा अर्यालले दूरसञ्चार प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी निर्णय गरेको अख्तियारको निष्कर्ष छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल निलम्बित भएका छन्। २०८० जेठ ३२ मा उनी मुख्यसचिव बनेका थिए।

अख्तियारले अर्यालसहित राजस्व विभागका तत्कालीन महानिर्देशक तथा हाल अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तथा हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, आन्तरिक राजस्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्माविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले उनीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी लिएर मुद्दा दायर गरेको छ।