बनेन सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल

हिउँदयाममा पानी कम हुँदा ट्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायतका सवारीसाधनले जोखिम मोलेर कर्णाली नदी वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ। 

हुम्ला– जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन। 

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो। 

पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोट सडक सञ्चालनसँग जोडिएको छैन भने उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन र स्थानीयलाई सास्ती हुँदै आएको छ। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एक मात्र जिल्ला हुम्ला हो।

हिउँदयाममा पानी कम हुँदा ट्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायतका सवारीसाधनले जोखिम मोलेर कर्णाली नदी वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ। 

दोजाम कर्णाली नदीमाथि पुल नबन्दा सडकसँग अझै जोडिन नसकेको स्थानीय पूर्ण भण्डारीले बताए। सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नलाई सम्बन्धित निकाय र ठेकेदार कम्पनीले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ। पक्की पुल निर्माण शुरू भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिला गरेकाले सडकसँग जोडिन नसकेको उनले उल्लेख गरे। 

पुल नबनेपछि खोला तार्दै स्थानीय
कर्णाली करिडोरअन्तर्गत सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुदोभानमा पुल नबन्दा यस क्षेत्रका नागरिकले सामान खोला तार्ने काम गरी मनग्य आम्दानी गर्दै आएका छन्।

खार्पुनाथ–५ मा पर्ने खार्पु र दोभान कर्णाली नदीमा बेलिब्रिज निर्माण नहुँदा करिडोरको बाटो भएर ढुवानी भएका सामान यहाँ रहेको झोलुङ्गे पुल तार्ने काम गरी यस क्षेत्रका नागरिकले मनग्य आम्दानी गर्दै आएका हुन्।

सुर्खेत, नेपालगन्जबाट मालवाहक ट्रकले झोलुङ्गे पुल खार्पुदोभान पारिपट्टिसम्म विभिन्न विकास निर्माण, दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्छ। सवारी गुड्ने पक्की बेलिब्रिज नबन्दा छिप्रा, माजा, नल्ला, याङ्चु, खर्पेलगाउँलगायत आसपासका महिलाले पुलबाट ढुवानी गर्ने काम गरिरहेका छन्।

पारिबाट ल्याइएका सामान ढुवानी गरेबापत एक जना महिलाले दैनिक एक हजार पाँच सयसम्म कमाउने गरेको खार्पुनाथ–४ छिप्रागाउँका महिला बताउँछन्। उनीहरू बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म भारी बोक्ने काम गर्दछन्।

दैनिक एक हजार पाँच सयसम्म कमाई हुँदा घर खर्च सहजै निस्कने गरेको बाँचु दमाईंले बताइन्। “घरमा नुन, तेल, बेसार, साबुनदेखि लिएर बालबालिकाको कापीकलम किन्नसमेत आजकल सहज भएको छ,” उनको भनाइ छ। आफू मात्रै नभएर गाउँका अरू महिला पनि काममा खटिएर राम्रो आम्दानी गर्ने गरेका उनले बताइन्।

यो वर्ष पानी नपरेर खडेरी पर्दा यस क्षेत्रका किसानलाई के खाने भन्ने चिन्ता भएका बेला भारी बोक्ने काम पनि रोजगारीजस्तै भएको बाँचुले बताइन्। “हिउँदमा हिउँ नपर्दा जेठासी बाली राम्रो भएन, उवाँ, गहुँ र जौ खेतमै सुके, असारमा पानी पर्ने समय पानी नपर्दा थप समस्या निम्तिएको छ”, उनले भनिन्।

खडेरीको चिन्तामा किसान
तीन वर्षयतादेखि जिल्लामा हिउँदमा हिमपात नहुँदा र वर्षामा पानी नपर्दा समस्या बनाएको खापुनाथ–५ ताक्लाका ६२ वर्षीय कन्न कामीले बताए। बर्सेनि हिउँदमा हिउँ नपर्दा, वर्षामा पानी नपर्दा खेतीपातीको भरमा जीविकोपार्जन गर्दै आएका किसानलाई हातमुख जोड्न समस्या हुने गरेको उनको गुनासो छ। 

“जेठासी बाली छरेका खेतमा पानी नपर्दा खेत सुकेका छन्। अब कात्तिके बाली कसरी लगाउने भनेर चिन्ताले छोएको छ। सिँचाइ गरूँ भने खेत नजिक भएका तीन पानीका मुहानमध्ये एक मुहानबाट पानी आउँछ अरू मुहान सुकेका छन्,” उनले भने। 

असारमा पानी नपरे समस्या हुने उनको गुनासो छ। साउन पानी पर्दा बाढी पहिरो गएर झन् क्षति बनाएर अर्को समस्या हुने उनको भनाइ छ।