दोस्रो विश्वयुद्धमा पढाइ छाडेकी थिइन्, १०५ वर्षको उमेरमा लिइन् 'मास्टर्स डिग्री'

हिस्लोपका प्रेमी, जर्जले दोस्रो विश्वयुद्धमा सेनामा खटिनुपर्ने भयो। त्यतिबेला उनीसँग दुई वटा विकल्प थियो, स्नातकोत्तर पूरा गर्ने वा बिहे गर्ने।

भर्जिनिया ‘गिनी’ हिस्लोप

दोस्रो विश्वयुद्धको समयमा पढाइ छोडेकी एक महिलाले अन्ततः ८३ वर्षपछि १०५ वर्षको उमेरमा शिक्षामा स्नातकोत्तर 'मास्टर्स डिग्री' प्राप्त गरेकी छन्।

अमेरिकाकी भर्जिनिया ‘गिनी’ हिस्लोपले १९४० मा स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ एजुकेसनबाट स्नातक गरेकी थिइन्। स्नातकोत्तरका लागि तयारी र थेसिसका लागि काम गरिरहेकी थिइन्। तर उनको त्यो स्नातकोत्तरको यात्रा अधुरै रह्यो।

हिस्लोपका प्रेमी, जर्ज हिस्लोपले दोस्रो विश्वयुद्धमा सेनामा खटिनुपर्ने भयो। त्यतिबेला उनीसँग दुई वटा विकल्प थियो, स्नातकोत्तर पूरा गर्ने वा बिहे गर्ने। उनले बिहे गरेर वैवाहिक जीवनलाई अघि बढाउने निर्णय गरिन्। त्यसले गर्दा पढाइलाई बीचमै छाड्नुपरर्‍यो।

“मैले सोचेकी थिएँ कि यो मैले आवश्यक परेको खण्डमा पूरा गर्न सक्ने कुराहरूमध्ये एक हो र मलाई सधैँ अध्ययन गर्न मन पर्थ्यो, त्यसैले त्यो मेरो लागि खासै ठूलो चिन्ताको विषय थिएन, तर बिहे गर्नु थियो,” हिस्लोपले स्ट्यानफोर्डको विज्ञप्तिमा भनेकी छिन्।

अहिले गिनी हिस्लोपका दुई सन्तानबाट चार नातिनातिना, ९ पनातिपनातिना भएका छन्। हाल वासिंटनमा बस्ने हिस्लोपले एक स्थानीय विद्यालय बोर्डमा रहेर लामो समय सेवा गरिन्। याकिमा स्कुल बोर्ड अफ डाइरेक्टर्सको अध्यक्षता गरिन् अनि याकिमा कम्युनिटी कलेजको बोर्ड अफ डाइरेक्टर्सको संस्थापक सदस्यसमेत भइन्। उनी वासिंटनको टोपेनिसमा हेरिटेज विश्वविद्यालय स्थापना गर्न मद्दत गरेर शिक्षा क्षेत्रमा संलग्न रहेर २० वर्ष बोर्डमा काम गरिन्।

यावत् व्यस्ताताले गर्दा त्यस क्रममा उनलाई आफ्नो बाँकी पढाइ पूरा गर्नेबारे पर्याप्त समय पनि भएन। यहीबीचमा स्ट्यानफोर्डले थेसिसको आवश्यकता नपर्ने नियम ल्यायो। त्यसपछि हिस्लप वर्षपछि आफ्नो स्नातकोत्तर डिग्री लिन स्ट्यानफोर्ड फर्किइन्।

“म यो काम (शिक्षा क्षेत्रको) वर्षौंदेखि गर्दै आएकी छु र यो डिग्रीको साथ मान्यता पाउँदा खुसी लाग्यो,” उनले खुसी व्यक्त गर्दै भनिन्, “मैले यसको लागि निकै लामो समयदेखि पर्खिरहेकी थिएँ।”