कास्कीमा पहिरोमा परेर २ बालबालिकाको मृत्यु, १ जना घाइते

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको मृत्यु भएको छ।

प्रतिनिधिमूलक तस्वीर।

कास्की– अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको गाउँपालिका अध्यक्ष देवीजङ गुरुङले जानकारी दिए। उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए। 

यसैगरी मंगलबार राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ। उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी छन्। 

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ। मंगलबार दिउँसोदेखि नै निरन्तर वर्षा भइरहेको अध्यक्ष गुरुङले बताए। पहिरोले पालिकाभित्रका अधिकांश सडक अवरुद्ध भएको उनको भनाइ छ।