भारतको लोकसभा सभामुखमा पुनः ओम बिरला, यस्तो छ उनको राजनीतिक यात्रा

बिरलाले भारतको इतिहासमा ४९ वर्षपछि पाँच वर्षको कार्यकाल पूरा गरी पुनः सभामुख बन्ने अवसर प्राप्त गरेका छन्। यस्तो अवसर प्राप्त गर्ने पहिलो सभामुख बलराम जाखड थिए।

ओम बिरला

भारतीय जनता पार्टी (भाजपा)का नेता ओम बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका छन्। भारतमा अहिले १८औँ लोकसभा चलिरहेको छ। बिरला राजस्थानको कोटा जिल्लाबाट लोकसभा सांसद हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सदनमा सभामुखको लागि उनको नामको प्रस्ताव पेश गरेका थिए, त्यसपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले प्रस्तावलाई समर्थन गरे। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्। प्रधानमन्त्री मोदीले आगामी पाँच वर्षसम्म उनको निर्देशन पाउने बताएका छन्। 

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा भने, “यो सदनको सौभाग्य हो कि तपाईं दोस्रो पटक यो सिटमा बस्नुभएको छ। यो सम्पूर्ण सदनको तर्फबाट म तपाईंलाई धेरै धेरै बधाई दिन्छु।” विनम्र व्यक्तित्व र मिठो मुस्कान भएका बिरलाले आगामी पाँच वर्षमा सबैलाई मार्गदर्शन गर्ने भन्दै प्रधानमन्त्री मोदीले उनको प्रशंसा पनि गरे।

लोकसभाको प्रतिपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीले पनि बिरलालाई बधाई दिएका छन्। साथै उनले लोकसभा चलाउन प्रतिपक्षले सहयोग गर्ने भन्दै त्यसमा कुनै अवरोध नआउने प्रति पनि सभामुखको ध्यानाकर्षण गराए।

उनले भने, “यसपटक विपक्षीले भारतका जनताको आवाजलाई अझ सशक्त ढंगले प्रतिनिधित्व गरिरहेको छ। संसद चलाउन प्रतिपक्षले सहयोग गर्छ। यो धेरै महत्त्वपूर्ण छ कि सहयोग विश्वासमा आधारित हुनुपर्छ।”

भारतको इतिहासमा पाँच वर्षको कार्यकाल पूरा गरी पुनः सभामुख बन्ने अवसर प्राप्त गर्ने पहिलो सभामुख बलराम जाखड हुन्। ओम बिरलाभन्दा अगाडि बलराम जाखडले पाँच वर्षको कार्यकाल पूरा गरेर फेरि सभामुख पद पाएका थिए। त्यसको ४९ वर्षपछि बिरला पाँच वर्षको कार्यकाल पूरा गरी लगातार दोस्रो कार्यकाल सम्हाल्ने सभामुख बनेका छन्।

को हुन् ओम बिरला?
विद्यार्थी राजनीतिबाट आएका उनी अहिलेसम्म तीन पटक विधायक र तेस्रो पटक सांसद बनेका छन्। योसँगै उनले धेरै कीर्तिमान पनि आफ्नो नाममा बनाएका छन्। उनी राजस्थानबाट लोकसभा अध्यक्ष हुने पहिलो सांसद पनि हुन्।

सन् १९६२ मा राजस्थानको कोटामा जन्मेका उनले त्यहीँबाट विद्यार्थी राजनीति शुरू गरेका थिए। उनले गुमानपुरा सरकारी उच्च माध्यमिक विद्यालय, कोटाबाट स्कुलको शिक्षा पूरा गरे र त्यसपछि राजस्थान विश्वविद्यालयबाट बिकम र एमकम पूरा गरे। १९८० को दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय बिरला कोटाको गुमानपुरास्थित वरिष्ठ माध्यमिक विद्यालयको विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका थिए। पछि उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को मुख्य सदस्यको रूपमा सामेल भए। 

सन् १९८७ मा, बिरला भारतीय जनता युवा मोर्चाको सदस्य बने र चाँडै जिल्ला अध्यक्ष भए। चार वर्ष पूरा हुनुअघि उनी भाजपा युवा मोर्चाको प्रदेश अध्यक्ष बने। उनले यो पद एक महिनाभन्दा बढी समयसम्म सम्हालेका थिए।

त्यसपछि, उनी भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघ लिमिटेड, नयाँ दिल्ली र त्यसपछि राजस्थान राज्य सहकारी उपभोक्ता संघ लिमिटेड, जयपुरको अध्यक्ष (१९९२ देखि १९९५) रहे।

उनी सन् २००३ मा पहिलो पटक चुनाव जितेर विधानसभा सदस्य निर्वाचित भए। भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूमा अवस्थित एक विधायी निकाय विधानसभा हो। त्यसपछि सन् २००८ र २०१३ मा पनि कोटाबाट चुनाव जितेर विधानसभामा पुगेका थिए।

तीन पटक विधायक बनेपछि उनी २०१४ मा कोटा संसदीय सिटबाट विजयी भएर पहिलो पटक लोकसभामा पुगेका थिए। लोकसभा भारतको संघीय सदनअन्तर्गतको तल्लो सदन हो। माथिल्लो सदनलाई राज्यसभा भनिन्छ। त्यसपछि उनी २०१९ र २०२४ को लोकसभामा निर्वाचित भइसकेका छन्।

तीन पटक विधायक र तेस्रो पटक लोकसभा निर्वाचित ओम बिरला संसदका धेरै समितिको सदस्य पनि रहिसकेका छन्। आफ्नो पहिलो कार्यकाल अर्थात् १६औँ लोकसभाको अवधिमा, बिरला अनुमान समिति, याचिका समिति, ऊर्जा र परामर्श जस्ता स्थायी समितिको सदस्य भएका छन्।

–एजेन्सीहरूको सहयोगमा