ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण शुरू भएको छ।

काठमाडौँ– विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको हो। ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ।

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण शुरू भएको छ। यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट चार सय केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो। अब देशभित्रै ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह शुरू गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै कोशी प्रदेशका तराईका जिल्लामा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्दछ।

प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। अहिले दुई देशबीच विद्युत् आयात निर्यात परिमाण आठ सय मेगावाट मात्र छ। उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारततर्फ निर्यात गर्न सकिने बताए।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ–याङस्थित हेटौँडा सबस्टेसनबाट  इनरुवा सबस्टेनसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरू गरिएको थियो। प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटर दुई खण्डमा विभाजन गरिएको छ। हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ।