भेडीगोठले बागलुङका बुकीमा चहलपहल, बेँसी सुनसान

निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजलालगायत क्षेत्र गोठालाहरूको मुख्य बासस्थान हो।

ढोरपाटन– जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए। 

जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी (लेक) उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन्। यतिबेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्नेलगायत ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चबर्च बोकी बुकी उक्लिरहेका भेटिन्छ। हरेक वर्ष बर्खाको समय बुकी र हिउँदको समय बेँसी (औल)मा बस्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै रहेको निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्तीमगरले बताए। एकै परिवारले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पुर्‍याउन नसकिने हुँदा यहाँका स्थानीय हरेक वर्ष यस्तै गर्छन्। 

हिउँदमा बेँसी क्षेत्र रमाइलो हुने गरेकामा बर्खा लाग्न थालेपछि बुकीमा पशुचौपाया र गोठालाको चहलपहल बढेको छ। अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेँसी क्षेत्र रित्तो हुन्छन्। अघिल्लो वर्ष असोज र कात्तिकमा बेँसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् भने अबको करिब पाँच महिना उनीहरूले लेकमै बस्ने छन्। यतिबेला बेँसीमा घाँस सकिएको र लेकमा प्रशस्त पाइने भएकाले गोठाला दुई हजार दुई सय मिटरदेखि चार हजार ५०० मिटरको उचाइसम्म पुग्ने गर्छन्। 

बर्खाभरी बुकीमा पालेका भेडाबाख्रा दशैँताका शहर बजारसम्म लगेर बिक्री गर्ने यहाँका गोठालाले त्यसबाट राम्रो आम्दानी गर्ने गरेका छन्। निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजला लगायतका क्षेत्र गोठालाहरुको मुख्य बासस्थान हो। रिग र खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि आउने गर्छन्। हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुनेहुँदा बेँसी ओर्लनु यहाँको चलनै हो। अहिले लेक चढ्ने भेडीगोठाला साउन भदौतिर एक/दुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने गरेको घर्तीमगरको भनाइ छ। “आठ/नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानुभयो, मलाई अलि सञ्चो थिएन र अहिले बल्ल ठीक भएर खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो। खर्च सिकियो वा  दुःख बिमार लाग्यो बने मात्रै बीचमा झरिन्छ,” घर्तीमगरले भने।

यहाँका किसान लेकबेँसी गरेर हजारौँको संख्यामा पशुपालन गर्छन्। उनीहरूले आफ्नै बलबुतामा परम्परागत पशुपालन पेसा अँगाल्दै आएका छन्। पछिल्लो समय सडक बनेपछि केही सहज भएको छ तर राज्यले आफूहरूलाई कुनै सहुलियत नदिएको धेरैको गुनासो छ। 

पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढामगरले आफ्नै बलबुतामा सयौँ पशुबस्तु पाले पनि सरकारबाट कुनै सहुलियत नपाएको बताए। “पहिले त निकै कष्ट हुन्थ्यो, अहिले सडक बनेपछि केही राहत भएको छ। त्योभन्दा बाहेक सरकारबाट केही पाएका छैनौँ,” उनले भने। मध्यपहाडी लोकमार्ग भेडीगोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजाने गरेका छन्। बाँकी दशैँतिहारमा बजार लगेर बिक्री गर्ने गरेको उनको भनाइ छ।  

असार लागेपछि बुकी भेडाबाख्राले भरिएको बुढामगरको भनाइ छ। गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्छ। “यो भेडाबाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिँदैन। गोठाला पनि धेरै हुन्छन्, कसको बथानमा कति भेडा छन्, त्यो स्वयं गोठालालाई मात्रै थाहा हुन्छ,” बुढामगरले भने, “पोहोरसाल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी परेकाले असार लागेपछि मात्रै माथि उक्लिन थालेका छौँ।”