सुडानका युद्धरत पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरेको राष्ट्रसंघको दाबी

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अप्रिलमा शुरू भएको लडाइँमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

तस्वीर: एएफपी।

सुडानको गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसंघले जनाएको छ। दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको राष्ट्र संघको आरोप छ। 

सुडानमा सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उनका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध चलिरहेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अप्रिलमा शुरू भएको लडाइँमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। ३३ हजारभन्दा बढी घाइते भएका छन् अधिकारकर्मीहरूले भने यो संख्या धेरै हुन सक्ने बताएका छन्। यसले विश्वको सबैभन्दा खराब मानवीय संकटलाई जन्म दिएको बताइएको छ।

राष्ट्रसंघका चार स्वतन्त्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिक भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन्। 

“एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकहरूलाई भोकै मारिरहेका छन्,” खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनमा विज्ञले भनेका छन्। 

विज्ञहरूले द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकार भोकमरी र मानवताविरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायसँग मानवीय कार्यलाई तीव्रता दिन पनि आग्रह गरिएको छ।