प्रतिनिधिसभा बैठक: राहत तथा उद्धारका काममा तीव्रता दिन माग

बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन्। बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले मनसुन शुरू भइसकेको अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङलगायत विभिन्न प्राकृतिक विपद्का घटना बढेकाले जोखिम न्यूनीकरण र पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग माग गरिन्। 

सांसद मानवीर राईले बाढी र पहिरोले सोलुखुम्बुका विभिन्न सडकखण्ड भत्किएर यातायात सेवा अवरुद्ध भएको तथा केही व्यक्तिको घरमा क्षति पुगेको विषय संसद्मा उठाए। सांसद अमनलाल मोदीले देशभर बाढीपहिरोको समस्या सिर्जना भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले तत्काल उद्धार र राहतको कदम चाल्न माग गरे। 

सांसद अमरेशकुमार सिंहले विद्युत् प्राधिकरणको लापरबाहीले केही ठाउँमा बिजुलीको तार लत्रिएको अवस्थामा रहेको र करेन्ट लाग्ने जोखिम देखिएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए। सांसद रामहरि खतिवडाले बाढी पहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुंगाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँमा उपचार भइरहेको बताए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

सांसद मनबहादुर गुरुङले कास्कीका विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनधनको क्षति भएकाले पीडितलाई राहत, क्षतिपूर्ति तथा सहज स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे।

सांसद उर्मिला माझीले लमजुङका विभिन्न स्थानमा बाढी, पहिरो र चट्याङजस्ता मनसुनी विपद्का कारण ६ जनाले ज्यान गुमाउनुपरेको बताइन्। सांसद किरण साहले विपद् व्यवस्थापनका लागि सरकार र मातहतका निकायको ध्यानाकर्षण गराइन्। जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा ध्यान दिन उनले सरकारसँग माग गरिन्। 

सांसद अब्दुल खानले मंगलबार र बुधबार भएको वर्षाका कारण देशभर २० जनाले ज्यान गुमाएका तथा १६ जनाभन्दा बढी घाइते भएको जानकारी गराउनुका साथै शिक्षा क्षेत्रमा विकृति बढिरहेको विषयमा विस्तृत अनुसन्धान गर्न सरकारसँग माग गरे।