हर्कबहादुर भन्छन्, ‘समयमै तालिम नपाएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यता थियो।’
पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको एक सामान्य परिवारमा जन्मेर माध्यमिक शिक्षामात्र उत्तीर्ण गरेका हर्कबहादुर तामाङ सानै उमेरदेखि प्राविधिक सीप सिकेर कुनै उद्यम गर्न उत्सुक थिए। तर, परिवारको कमजोर अवस्थाले गर्दा उच्च शिक्षा हासिल गर्ने उनको इच्छा अधुरो नै रहन गयो।
तर पछि उनी काम गर्दै अध्ययन गर्छु भनेर गाउँपालिकाको केन्द्र रविबजार आए। त्यहीँ उनले साैर्य उर्जा जडानको तालिम लिए। विसं २०६६ सालमा सौर्य ऊर्जा जडानको तह–१ सीप परीक्षा उत्तीर्ण गरेपछि विभिन्न सौर्य ऊर्जा कम्पनीका तर्फबाट घरायसी सौर्य प्रणालीहरू जडान गर्न उनी गाउँगाउँमा जान थाले।
घरायसी सौर्य ऊर्जा जोड्न जाँदा पुराना सौर्य ऊर्जा मर्मतका लागि उनलाई धेरैको अनुरोध आउन थाल्यो। घरायसी सौर्य ऊर्जा जडानमा सामान्य ज्ञान भएका हर्कले मर्मतको सीप हासिल गरे त व्यावसायिक बन्न सकिने कुरा बुझेपछि त्यस किसिमको तालिमको खोजी गर्न थाले।
‘तँ आँट म पुर्याउँछु’ भनेजस्तै त्यति नै बेला जिल्लामा सञ्चालित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले स्थानीय सरकारको माग र आवश्यकतालाई मध्यनजर गरी मिक्लाजुङ गाउँपालिकामा सौर्य ऊर्जा मर्मतसम्बन्धी तालिमको आयोजना गर्दै थियो। गाउँपालिकाबाट जानकारी पाएपछि हर्क पनि तालिममा सहभागी भए। झण्डै एक महिनासम्म सञ्चालन गरिएको सो तालिममा आफूले धेरै नयाँ कुरा सिक्ने मौका पाएको उनको भनाइ छ।
तालिममा सिकेको सीपले उनलाई व्यावसायिक रूपमै यसमा लागेमा राम्रै आम्दानी गर्न सकिने आत्मविश्वास बढ्यो। उनले सौर्य ऊर्जासम्बन्धी सम्पूर्ण सेवा दिने हिसाबले बुद्ध ट्रेडर्स एन्ड सप्लायर्स व्यवसाय दर्ता गरी व्यवसाय शुरू गरेका छन्। पहिले अन्य कम्पनीहरूको सौर्य ऊर्जा जडान गर्दै हिँडेका उनी अब आफैँ मालिक बनेर व्यवसाय गर्न थालेका छन्। उनले अन्य दुई जनालाई पनि पूर्ण रोजगारी र तीन जनालाई आंशिक रोजगारी दिएका छन्।
पाँचथरका फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका तथा इलाम जिल्लाका फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका अधिकांश घरमा उनले सौर्य विद्युत् जडान गरेका छन्। तालिममा सिकेको सीप र लामो अनुभवपछि अब उनी सौर्य घरेलु प्रणालीमात्र नभएर सौर्य लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजनाहरूको जडान तथा मर्मत पनि गर्न पनि सक्षम भएका छन्।
त्यतिमात्र होइन, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले विभिन्न जिल्लामा आयोजना गर्ने सौर्य ऊर्जा जडान तथा मर्मत तालिमहरूमा सहसहजकर्ताका रूपमा पनि प्रशिक्षण दिने गरिरहेका छन्। तालिमहरूमा सहभागीलाई गराइने अभ्यासका लागि आवश्यक सम्पूर्ण सामान पनि आफैँले लैजाने गर्छन्। यसले पनि उनको आम्दानीको स्रोत अझ बढेको छ। सौर्य ऊर्जा मर्मतका अलावा उनले सौर्य ऊर्जा प्रणालीमा चाहिने सामान घरमै राखेर स्थानीयवासीलाई बिक्री गरी सेवा दिँदै आएका छन्।
तीन वर्षदेखि गाउँपालिकासँग सौर्य ऊर्जा प्रणालीको मर्मतसम्भार तथा नियमित ऊर्जा आपूर्तिका लागि वार्षिक सेवा सम्झौता गरेका छन्। यसवापत उनले पहिलो वर्ष ३६ हजार रुपैयाँ, दोस्रो वर्ष ६० हजार र तेस्रो वर्ष दुई लाख रुपैयाँको काम गरेका छन्। पालिकाको सहयोगमा उनले मुख्य सडकखण्डमा सडकबत्ती पनि जडान गरेका छन्।
गाउँमा नै दक्ष जनशक्ति भएकाले नियमित रूपमा सार्वजनिक सेवा प्रदान गर्न निकै सहज भएको गाउँपालिकाका अध्यक्ष अमरराज माखिम बताउँछन्। एउटा सक्षम व्यक्तिले गाउँको विकासमा कसरी योगदान दिन सक्दछ भन्ने उदाहरण हर्कबहादुरले देखाएका छन्। फाल्गुनन्द गाउँपालिकाले यसै वर्षदेखि वार्षिक रूपमा सम्झौता गर्ने प्रस्ताव गरेको भए पनि आफूले समय दिन नसकेको उनी बताउँछन्।
अहिलेसम्म उनले पालिकाभित्र र बाहिर गरी पाँच सय ५० घरमा सौर्य प्रणाली जडान तथा मर्मतसम्भारको काम गरेका छन्। त्यस्तै, १५ वटा सौर्य लिफ्ट खानेपानी आयोजनाहरूको जडान तथा मर्मतसम्भार र सयभन्दा धेरै साना तथा ठूला लघुजलविद्युत् परियोजना मर्मत गरिसकेका छन्। सौर्य प्रणाली वा लघुजलविद्युत् आयोजनामा सामान्य समस्या आउँदा महिनौँ दिनसम्म मर्मत हुन नसक्दा अन्धकारमा बस्न बाध्य स्थानीय बासिन्दा अहिले तत्कालै उनको सेवा पाउँदा निकै लाभान्वित भएका छन्।
यसै वर्ष राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँगाउँ पुगेसँगै घर वाइरिङ गर्ने कार्यले उनलाई फुर्सदै छैन। पसलमा पनि विद्युतीय सामान बिक्री बढेको उनको भनाइ छ। हालै विराटनगरस्थित श्री कृष्णग्रिल एन्ड इन्जिनियरिङ वर्क्सले सञ्चालन गरेको लघु जलविद्युत मर्मत सेवा केन्द्रको स्थानीय सेवा प्रदायक संस्थाको रूपमा पनि उनले आफ्नो फर्मको सेवालाई विस्तार गराएका छन्।
हर्कबहादुर भन्छन्, “समयमै तालिम नपाएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यता थियो। तर आज नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले आफूसँग लुकेर बसेको उद्यमशीलतालाई उजागर गरी उद्यमी बनायो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
