देशभर झन्डै १० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा

'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ असार १५ मा २१‍औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ– देशभर झन्डै १० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हिजो बुधबारसम्म ९.८ प्रतिशत धान रोपाइँ सकिएको हो।

१३ लाख ९८ हजार ८३६.७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए पनि अहिलेसम्म एक लाख ३६ हजार ४११ हेक्टरमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। देशभर वर्षा हुन थालेसँगै धान रोप्ने क्रम पनि बढीरहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै, कर्णाली प्रदेशमा २३.९, बाग्मती प्रदेशमा १८.३, लुम्बिनी प्रदेशमा ८.८ र गण्डकी प्रदेशमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ। कोशी प्रदेशमा ५.६ तथा मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

विगत चार आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा धान लगाइएको क्षेत्रफल १.७३ हेक्टरले घटेको छ। विगत ४ वर्षको तुलनfमा यो आर्थिक वर्षमा धान उत्पादन भने ५.०८ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांक छ।

नेपालमा असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ। यसै सन्दर्भमा यो वर्ष 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ २१‍औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।