जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

झापाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरिएको छन्। मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढाइएको छ।

झापा– कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ।

“राति तीन पटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै सदस्य निद्राबाट ब्युँझिएका थियौँ,” उनले त्यसबेलाको घटना सम्झिँदै भने, “हस्याङ्फस्याङ गर्दै वृद्ध आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौँ।” केही समयपछि नै बाढी पसेर बस्ती जलमग्न भएकोे उनले बताए। 

जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय बस्तीमा बर्खा लागेपछि बाढीको पूर्वसूचना दिन जडान गरिएका साइरन बज्नु सामान्यजस्तै भइसकेको छ। इलाममा वर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र बस्तीमा पस्ने घटना बर्सेनि दोहोरिने गरेको छ। बाढी आउनु पहिल्यै जानकारी दिने साइरन यहाँका बासिन्दाका लागि बरदान सावित भएको छ।

बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो। मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजवंशीले बताए। 

नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्रवटा वडाका १५ वटा बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै साइरन जडान गरिएको जानकारी दिए। 

साइरन जडान भएको स्थानमा कनकाई नगरपालिका–४ को त्रिवेणी टोल, झापा गाउँपालिका–१, २, ३ र ७ को मिलन बस्ती, सुगाबथान, उराउ बस्ती, नयाँ बस्ती र टप्पु बस्ती रहेका छन्। खड्काका अनुसार शिवसताक्षी नगरपालिका–४, ५, ७, ८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपला बस्ती र सुकुम्बासी बस्तीमा समेत साइरन जडान भइसकेको छ। गौरीगञ्ज गाउँपालिका–१ र २ स्थित बिर्खे बस्ती, होकलाबारी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ।

इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिले नै साइरन जडान भएको उनले जानकारी दिए। साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसंख्या र इलामको ४०० घरका दुई हजार जनुंख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन्।

बर्सेनि बाढीले आतङ्क मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन्। स्थानीय ५० देखि १५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ। समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ।

झापा र इलामको सिमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन्। ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोबाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन्। त्यही एसएमएसका आधारमा गाउँमा साइरन बजाउने गरिएको छ।

“पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन सङ्केत गर्छ र तेस्रो पटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ,” रेडक्रसकर्मी खड्काले भने, “करिब ३० मिनेटमा तीन पटक साइरन बजिसक्दा बस्ती छाडिसक्नुपर्छ।”

शिवसताक्षी नगरपालिका–४ का ५५ वर्षीय रेशमान दर्जीले गत वर्ष बाढी बस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताए। साइरन बजेपछि बस्तीका मानिस सुरक्षित आश्रयस्थलतिर जाने गरेको उनको भनाइ छ। “साइरनले जनधनको ठूलो क्षतिबाट जोगाएको छ,” उनले भने।

रेडक्रसका सम्पर्क व्यक्ति खड्काले ती साइरनहरू स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव सञ्चालित प्रविधियुक्त रहेका जानकारी दिए। कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको छ।