धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

अध्यक्ष सिफारिस गर्नका लागि गठन भएको समितिको शुक्रबार बसेको बैठकले हालसम्म भएका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गर्ने निर्णय गरेको हो।

काठमाडाैँ– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी प्रक्रिया रद्द भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ नेतृत्वमा रहेको अध्यक्ष सिफारिस गर्नका लागि गठन भएको समितिको शुक्रबार बसेको बैठकले हालसम्म भएका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गर्ने निर्णय गरेको हो।

अर्थमन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्षको नाम सिफारिस गर्न हालसम्म सम्पन्न गरिएका छनौटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको जनाएको छ। यद्यपि कारण भने खुलाइएको छैन। अध्यक्ष सिफारिस समितिले 'सर्टलिस्ट'मा रहेका उम्मेदवारहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि असार पहिलो साता दुई पटकसम्म बोलाउँदा पनि तीन जना अनुपस्थित भएका थिए।

'सर्टलिस्ट'मा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ अन्तर्वार्तामा गएका थिए भने बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं गएनन्।

यो पनि: मूल्यवान्’ बनेको सेबोन अध्यक्षको पद

उक्त अवस्थामा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनेबारे समितिले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र पठाएर राय मागेको थियो। जवाफमा कार्यालयले अध्यक्ष छनौट प्रक्रिया अघि बढाउन कम्तीमा तीन जनाको नाम सिफारिस गर्नैपर्ने र पाँच जनामध्ये तीन जनालाई सिफारिस गर्ने वा सम्पूर्ण प्रक्रिया नै रद्द गरी नयाँ शुरू गर्ने भन्ने सम्बन्धमा समिति स्वतन्त्र रहेको राय दिएको थियो।

मंगलबार राय आएपछि त्यसपछि सिफारिस समितिको दुई वटा बैठक बसेका थिए। ती बैठकमा संयोजक श्रेष्ठ, विज्ञ सदस्य उदय निरौलाले 'सर्टलिस्ट'मा परेका पाँचै जनाको नाम सिफारिस गर्ने प्रस्ताव राखे पनि अर्थसचिव मधु मरासिनीले सहमति जनाएनन्। धितोपत्र ऐन र अध्यक्ष छनौट कार्यविधिअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने उल्लेख रहकाले पाँज जनाको नाम पठाउन नमिल्ने मरासिनीले तर्क गरेका थिए।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ४ मा ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।  दुई वटा बैठकमा पनि मत नमिलेपछि प्रधानमन्त्री वा अर्थमन्त्रीसँग परामर्श गरेर अर्को बैठक बस्ने समितिको निष्कर्ष थियो। शुक्रबार बसेको बैठकले अन्तत: प्रक्रिया रोक्ने निर्णय गरेको हो। अब नयाँ अध्यक्ष नियुक्ति कसरी अघि बढ्छ भन्नेबारे केही खुलाइएको छैन।

यस्तो छ सूचना: