वर्षाका कारण काठमाडाैँको फोहोर व्यवस्थापनमा समस्या नहुने

काठमाडौँ महानगरपालिकाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।

कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहोर रोकिने समस्या नहुने बताए। उनले भने, “विगतमा फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहोरलाई माटोले छोपेर मिलाउने काम (क्यापिङ) गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यसवर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन।”

तीनपिप्लेदेखि सिसडोलम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या नहुने उनको भनाइ छ।

कामपाका कूल ३२ वडामध्ये भित्री ९ वटा वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ। हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्छन्। 

उपत्यकाका १८ पालिकाको फोहोर दैनिक रुपमा त्यहाँ पुग्ने गरेको छ। शुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोरको अन्तिम व्यवस्थापन हुँदै आएको छ। विसं २०६८ मा सरकारले जारिगरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारिगरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ। यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ।