जबलपुर र दिल्लीपछि गुजरातमा पनि विमानस्थलको छत भत्कियो

भारतका विभिन्न क्षेत्रमा वर्षाका कारण विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्।

वर्षाका कारण भारतका विभिन्न क्षेत्रमा विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्। जबलपुर र दिल्लीपछि शनिबार गुजरातको विमानस्थलको पनि छत भत्किएको छ।

शनिबार दिउँसो राजकोट विमानस्थलको टर्मिनलको छाना खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमानस्थलको टर्मिनल बाहिर यात्रु 'पिकअप एन्ड ड्रप' क्षेत्रमा क्यानोपी खसेको बताइएको छ। यसको निर्माण अघिल्लो वर्षको जुलाइमा भएको थियो। नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार पानी जमेको छाना हटाउन मर्मतसम्भारको कामका क्रममा भत्किएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। यस विषयमा विस्तृत प्रतिवेदन माग गरिएको छ।

हिजो शुक्रबार दिल्लीमा पनि यस्तै घटना भएको थियो। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग खस्दा एक जना ट्याक्सी चालकको मृत्यु भएको थियो। त्यसपछि भने टर्मिनल–१ बाट उडान हुन सकेको छैन।

यस्तै, गत बिहीबार मध्यप्रदेशको जबलपुर विमानस्थलमा पनि विमानस्थल बाहिरको ‘सेड’ खसेको थियो। उक्त भिडियो शेयर गर्दै कांग्रेसका नेता र पूर्व केन्द्रीयमन्त्री अरुण यादवले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मोदीको विकास तीन महिना पनि नटिक्ने भन्दै टिप्पणी गरेका छन्।

"४५ करोड मा निर्माण गरिएको विमानस्थलको सेडले पहिलो वर्षा पनि थेग्न सकेन। उनको विकास त तीन महिना पनि टिकेन," उनले लेखेका छन्। उक्त विमानस्थलको लोकार्पण तीन महिना पहिले मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।