फेरिँदैछन् काठमाडौँ महानगरका सडकपेटी (भिडियो-कथा)

काठमाडौँ महानगरले सडकपेटी सुधार र मर्मतको अभियान थालेपछि अपाङ्गता भएकाहरूलाई पनि हिँड्न सहज हुँदैछ। तर कतिपय ठाउँमा सडकपेटीमै बनाइएको विभिन्न भौतिक संरचनाका कारण अवरोध कायम छ।

काठमाडौँ- डोटीका चक्र नेपाली दक्षिणकाली नगरपालिकास्थित खहरेबाट हरेक दिन बागबजार धाउँछन्। त्यहाँको एक अस्पतालमा 'टेलिफोन अपरेटर' रहेका उनी दृष्टिविहीन हुन्। सानै उमेरमा आँखाको ज्योति गुमाएका उनी खहरेबाट गाडीमा सुनधारा पुग्छन् र त्यहाँबाट हिँडेर बागबजारको यात्रा तय गर्छन्। गाडीबाट ओर्लिएपछि बागबजार पुग्न उनलाई निकै सकस हुन्छ।

कतै साँघुरो र कतै अव्यवस्थित सडकपेटीका कारण सेतो छडीको सहारामा पनि हिँड्न सहज छैन। "हामीजस्ता दृष्टि गुमाएकाहरू दिमागको भरमा हुन्छौ, सडकपेटीबीचका रूख र पोलहरूमा ठोकिनु पर्छ," उनी भन्छन्।

अहिले काठमाडौँका कतिपय स्थानमा दृष्टिविहीनलाई सहज हुने गरी लाइनसहितको सडकपेटी बनाइएपछि हिँड्न सहज हुन थालेको चक्र बताउँछन्। काठमाडौँ महानगरपालिकाले सडकपेटीलाई एकै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजना अनुरूप धमाधम काम अघि बढाएको छ। 

वैशाखीको भरमा मात्र हिँड्न सक्ने बाजुराका प्रेम आचार्य लामो समयदेखि काठमाडौँमा छन्। उनी पछिल्लो समय सडकपेटीमा हिँड्न सहज भइरहेको बताउँछन्। पहिला सडकको पेटीमा राखिएका मालसामानमा ठोकिन पुग्दा उनले पसलेहरूको गाली खानुपर्थ्यो। "पहिला सकस थियो। देशको प्रमुख कार्यालय सिंहदरबार र आसपाससमेत हामीलाई सहज थिएन। फराकिला सडक पेटी बनेपछि हिँड्न सजिलो भएको छ," उनले भने। 

भोटेबहालमा व्यवसाय गर्दै आएका विष्णु उप्रेती पसलअगाडिको सडकपेटीको अवरोध हटेपछि दङ्ग छन्। पर्खाल नै उठाएर सडकपेटी अवरोध गरेका कारण समस्या थियो। व्यवसायीले पटकपटक गुनासो गरे पनि सुनुवाइ भएको थिएन। "हामीले सम्बन्धित निकायमा भन्दा पनि सुनुवाइ भएन, अहिले अवरोध भत्काएर सडकपेटी खुला बनाइएको छ, महानगरलाई धन्यवाद छ," उनले भने।

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार पैदलयात्रुलाई सहज गर्ने गरी महानगरले सडकपेटीलाई फराकिलो र समान बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ। तर विद्युत् प्राधिकरणले भूमिगत तार विछ्याउने क्रममा त्यसको जमिनमाथि हुने संरचना सडकपेटीमा राख्दा बाटै छेकिने अवस्था भएको उनी बताउँछन्। यसमा समन्वय गरेर समाधान निकालिने उनी बताउँछन्। मानन्धरका अनुसार महानगरले सडकपेटी मर्मतलगायतका लागि करिब ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ।

बाँकी कथा भिडियोमा