वर्षात्को मात्रासँगै यस वर्ष डेंगी रोगको संक्रमण पनि बढ्न सक्ने अनुमानसहित नियन्त्रणका लागि सम्भावित सबै उपाय तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेपछि डेंगी संक्रमण पनि बढ्न सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्भावित संक्रमणबाट जोगिन सबै नागरिकलाई सचेत रहन चेतावनीसमेत दिएको छ। संक्रमण बढेको खण्डमा रोकथाम तथा निदानका लागि आवश्यक तयारी पर्याप्त भइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
“डेंगी संक्रमण नियन्त्रण र निदानका लागि मन्त्रालय पूर्णरूपमा तयार छ। क्षमताभन्दा बढी संक्रमित भए मात्र हाम्रो तयारीले थेग्दैन।” उनले थपे, “हामी संक्रमण बढ्नु अगावै नियन्त्रणमा लिने गरी काम गरिरहेका छौँ।”
मन्त्रालयका अनुसार पछिल्लो ६ महिनामा एक हजार भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगी नियन्त्रणका लागि मन्त्रालयले सबै स्थानीय तहहरूमा द्रुत प्रतिकार्य समिति तथा टोलीहरू पनि तयार पारेको छ। उक्त समितिलाई आवश्यक पर्नासाथ परिचालन हुन पत्राचार गरिसकेको मन्त्रालयले डेंगी निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक समग्रीसमेत तयारी अवस्थामा रहेको जनाएको छ।
अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै रोगको संक्रमण र नियन्त्रणबारे विभिन्न माध्यमबाट जनचेतना फैलाउने काम पनि भइरहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए। जनशक्तिलाई आवश्यक तालिम दिइनुका साथै प्रत्येक स्थानीय तहमा काउन्सिलर (परामर्शदाता) र फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकेर सजग गराउने तयारी भएको जानकारी उनले दिए।
डेंगीकारक लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानलाई प्राथमिकताका साथ निरन्तरता दिएको मन्त्रालयले अस्पतालमा हुने चापलाई व्यवस्थित गर्नसमान्य रुघाखोकी र ज्वरोका विरामीलाई भने घरमै आराम गर्न सुझाएको छ।
धरानले सिकेको पाठ
गएको वर्ष धरानमा डेंगी संक्रमण प्रकोपकै रूपमा फैलिएको थियो। धरान उपमहानगरको तथ्यांकअनुसार गत वर्ष २२ हजार ८५२ जनामा गरिएको परीक्षणमध्ये ७० प्रतिशत अर्थात् १६ हजार ३२ जनामा संक्रमण पुष्टि भएको थियो। डेंगी संक्रमणका कारण त्यहाँ १३ जनाको मृत्यु भएको तथ्यांक छ।
धरान उपहानगरका जनस्वास्वास्थ्य परीक्षक उमेश मेहता अघिल्लो वर्ष नियन्त्रणको प्रयासमा ढिलाइ हुँदा संक्रमण फैलिन पुगेको बताउँछन्। यस वर्ष भने उपमहानगरले गएको चैतदेखि नै मन्त्रालयसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रमका साथै सम्बन्धित अन्य निकायहरूसँग समन्वय थालेको थियो। मेहताका अनुसार गत चैतदेखि धरानका प्रत्येक वडा र विद्यालयसँग अन्तरक्रिया गरिँदै आएको छ। घरदैलोमा गएर चिन्ह लगाउँदै कुनै घर नछुट्ने गरी सचेतना फैलाउने काम भइरहेको उनले बताए।
लार्भा खोज र नष्ट गर अभियानअन्तर्गत विगतका डेंगी प्रभावित क्षेत्रमा दैनिकजसो डेंगी नियन्त्रणको औषधि छर्किने र पानी जम्ने भाडाहरू खाली गराउने काम पनि धरानको अर्को नियमितता भएको छ। सकेसम्म डेंगी बढ्न नदिने योजना भए पनि बढेको खण्डमा आवश्यक औषधि तथा किट लगायतको तयारी गरिएको जनस्वास्वास्थ्य परीक्षक मेहताको भनाइ छ। उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायत अन्य स्वास्थ्य संस्थाहरूसँग पनि समन्वय गरिएको छ।
उपत्यकामा कस्तो छ रोकथामको तयारी?
गएको वर्ष काठमाडौँ उपत्यकामा संक्रमण फैलिए पनि प्रकोपको रूप लिएको थिएन। यस वर्ष उपत्यकामै डेंगीको संक्रमण बढ्ने आंकलन गरेको मन्त्रालयले दुई वर्षअघिको संक्रमणका आधारमा यस्तो अनुमान गरेको हो। “कुनै एक वर्ष डेंगीको प्रकोप फैलियो भने त्यसको दुई वर्षपछि पुनः फैलनसक्ने सम्भावना धेरै हुन्छ। पहिल्यैदेखि यस्तो हँुदै आएकाले यस वर्ष काठमाडौँ उपत्यकामा बढ्न सक्ने आंकलन गरिएको हो,” मन्त्रालयका प्रवक्ता बुढाथोकीले भने।
डेंगी फैलन नदिन उपत्यकाका स्थानीय तहहरूले पनि तयारी गरिरहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाले पनि डेंगी संक्रमण नियन्त्रणका लागि तयारी थालिसकेको महानगर स्वास्थ्य विभागका स्वास्थ्य सहायक ऋषिप्रसाद भुसालले बताए। उनका अनुसार लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा काम भइरहेको छ।
महानगरका ३२ वटै वडाका ५५८ स्वास्थ्य स्वयंसेविकालाई उक्त अभियानमा खटाइएको छ। प्रत्येक वडाका घरघरमा पुगेर सचेतनासम्बन्धी जानकारी दिइएको र स्वास्थ्य सामग्री, द्रुत प्रतिकार्य समिति तथा टोलीहरूलाई पनि तयारी अवस्थामा राखेर स्वास्थ्य संस्थाहरूसँग समन्वय भइरहेको भुसालले जानकारी दिए।
भक्तपुर नगरपालिकामा पनि आवश्यक तयारी थालिसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्रका प्रत्येक वडाका चिकित्सकहरूलाई तालिम दिएर जनचेतना फैलाउने काममा खटाइएको नरपालिकाका नगर स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले बताए। नगरपालिकाले डेंगी फैलिएपछि नियन्त्रण गर्ने भन्दा पनि सकेसम्म फैलनै नदिने गरी तयारी गरिरहेको उनले बताए।
ललितपुर महानगरपालिकाले पनि डेंगी नियन्त्रणको लागि तयारी अवस्थामा रहेको जनाएको छ। महानगरले आवश्यक सबै तयारी गरिसकेको र प्रत्येक वडाका अध्यक्षहरूको संयोजकत्वमा नियन्त्रण टोली बनाई जनचेतनामूलक कार्यक्रमहरू भइरहेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीशेर केसीले बताए
के हो डेंगी रोग?
डेंगी भाइरसबाट संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो डेंगी। यो रोग नेपालमा सन् २००४ मा देखा परे पनि संक्रामक रूपमा २००६ मा फैलिन थालेको थियो। वर्षात्को पानीमा लामखुट्टेको वृद्धिविकास हुने भएकाले यो रोग यही समयमा बढी देखा पर्ने चिकित्सकहरू बताउँछन्। यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार हालसम्म डेंगी १, २ ,३ र ४ गरी चार प्रकारका छन्। यो प्रकारको लामखुट्टेले दिउँसोको समयमा टोक्ने गर्दछ। यद्यपि घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टाअगाडि यो लामखुट्टे बढी सक्रिय हुने मरासिनी बताउँछन्।
डेंगीका लक्षणहरू
डेंगी ज्वरोका मुख्य लक्षणहरूमा ज्वरो आउनु, टाउको बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु, शरीरमा राता विमिराहरू आउनु, मांशपेशी दुख्नु, श्वास फेर्न गाह्रो हुनु इत्यादि पर्छन्र त्यसबाहेक एक्कासि उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशीहरू दुख्नु, नाक वा गिजाबाट रगत बग्नुजस्ता लक्षणहरू देखिएमा डेंगी संक्रमण हुन सक्छ। यस्तो लक्षण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउन तथा चिकित्सकको परामर्श लिन मन्त्रालयले आग्रह गरेको छ।
डेंगीबाट बच्न के गर्ने?
डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेबाट जोगिनु आवश्यक हुन्छ। यसबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा राख्ने, गाडीका टायर, पानीट्यांकी, गमला लगायतमा आफ्नो स्थान वरपर पानी जम्न नदिन, सुत्दा झुलको प्रयोग गर्न र कार्यस्थलमा काम गर्दा वा सार्वजनिक स्थानमा जाँदा पूरा बाहुला भएको लुगा लगाउन चिकित्सकहरू सुझाउँछन्। विशेषगरी स्वास्थ्य समस्या भएका वा दीर्घरोगीका साथै गर्भवती, शिशु, वृद्धवृद्धाहरूले अझ बढी सतर्क रहनुपर्ने चिकित्सकहरू बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
