पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

मनाङको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ।

मनाङ– जिल्लाको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ। गाउँपालिकाले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए। उनका अनुसार प्रतिविद्यार्थी ५० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ।

“हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्त्वपूर्ण छ। यहाँको स्थानीयबाट नै प्रवर्द्धन गर्न टेवा पुग्नेछ। त्यसैले यो विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको हो,” उनले भने।

गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैंक नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी दुई हजारका दरले खाता खोली बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ।

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताए।

उनका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसईईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप जनही २० हजार रुपैयाँ पुरस्कार वितरण गरिनेछ। प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र विक्ने शैक्षिक केन्द्रका रूपमा नमूना विद्यालयका रूपमा विकास गरी सबैको रोजाई विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ।