रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय आदेश

गत पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन्। 

काठमाडाैँ– बालिकामाथि यौनजन्य कसुर गरेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति सजाय फैसला गरेको छ।

सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। अदालतले गत सोमबार बम्जनले बालिकामाथि यौनजन्य कसुर गरेको ठहर गरेको थियो। सोही विषयमा आज सजाय सुनाइएको हो। 

बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएको थियो। सोही मुद्दामा बम्जनलाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो। पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन्।

‘लिटिल बुद्ध’समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ। बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन्। उनीमाथि आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ।