बागमती, गण्डकी र लुम्बिनीमा 'धेरै भारी' वर्षाको सम्भावना

धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडाैँ–  जल तथा माैसम विज्ञान विभागका अनुसार अहिले देशका धेरैजसो भागमा वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागअन्तर्गत माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। महाशाखाका अनुसार देशभरका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको माैसम पूर्वानुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक/दुई  स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।