हमासको रकेट आक्रमणपछि प्यालेस्टिनीहरूलाई दक्षिणी गाजा खाली गर्न इजरायलको आग्रह

हमासले सोमबार बिहान इजरायलतर्फ २० वटा रकेट आक्रमण गरेपछि इजरायली सेनाले यो आदेश दिएको हो।

इजरायली सेनाले प्यालेस्टिनीहरूलाई दक्षिणी गाजाको खान युनिसको पूर्वी भाग खाली गर्न आदेश दिएको छ। हमासले सोमबार बिहान इजरायलतर्फ २० वटा रकेट आक्रमण गरेपछि इजरायली सेनाले यो आदेश दिइएको हो।

त्यहाँ बसोबास गर्ने मानिसहरूलाई शुरूमा एउटा अडियो सन्देश पठाएर उनीहरूलाई उक्त क्षेत्र खाली गर्न भनिएको थियो। त्यसका साथै इजरायली सेनाले सोसल मिडियामा अरबी भाषामा यस सम्बन्धमा एउटा पोस्ट शेयर गरेको छ। अहिले धेरै मानिसहरुले दक्षिणी गाजा छाडेर गइरहेका अल जजिराले जनाएको छ।

पछिल्ला केही महिनामा इजरायलमा भएको यो पहिलो ठूलो आक्रमण हो। तर, ती मिसाइलहरूलाई इजरायलले निष्क्रिय पारेका थिए। त्यसैले आक्रमणमा कुनै हताहत भएको छैन।

प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)ले इजरायलको 'अपराध'को जवाफमा बम विष्फोट गरेको बताएको छ। खान युनिसको दक्षिण पूर्वमा रहेको युरोपेली अस्पताल वरपरको क्षेत्र जहाँबाट मानिसहरूलाई बाहिर निकाल्न आदेश दिइएको छ।

स्थानीय रिपोर्टहरूका अनुसार अस्पतालका कर्मचारीहरूले खान युनिसको नासर अस्पतालमा केही अत्यावश्यक उपकरणहरू सार्न थालेका छन् र केही कर्मचारी र बिरामीहरूले पनि ठाउँ छोडेका छन्।

अर्कोतर्फ, गाजाको उत्तरी भागमा पर्ने शेजैयामा पाँचौं दिन पनि भीषण लडाई जारी रह्यो र दक्षिणी रफाहमा एक इजरायली सैनिकको मृत्यु भएको थियो। आइतबार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने कि उनका सेनाहरू प्यालेस्टिनी क्षेत्रहरूमा 'कडा लडाई' मा संलग्न छन्।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा गाजामा ३७ हजार ९०० भन्दा बढी मानिस मारिएका छन् भने पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ।