एअर युरोपाको बोइङ जहाज टर्बुलेन्स हुँदा १ जना सिलिङमा अड्किए, ३० घाइते

जहाजले धेरै टर्बुलेन्स लिँदा एक यात्रु ओभरहेड लगेज कम्पार्टमेन्टभित्र छिर्न पुगेका थिए। आखिर किन हुन्छ यस्तो ?

पछिल्लो समय एअर टुर्बुलेन्सका घटना बढिरहेका छन्। सोमबार मात्रै स्पेनको मेड्रिडबाट दक्षिण अमेरिकी देश उरुग्वेको राजधानी मोन्टेभिडियो गइरहेको एअर युरोपाको बोइङ ७८७९ ड्रिमलाइनर जहाज अत्यधिक टर्बुलेन्स हुँदा ब्राजिलको विमानस्थलमा आपतकालीन अवतरण गर्नुपरेको थियो।

जहाजमा ३२५ जना यात्रु थिए। आन्ध्र महासागरको आकाशमा यात्रा गरिरहेको बेला उक्त घटना भएको हो। टर्बुलेन्समा ३० जना घाइते भएका द गार्डिएनले जनाएको छ। एक जना जहाजको सिलिङमै अड्किएको भिडियो बाहिरिएको छ। जहाजले धेरै उफार्दा उनी ओभरहेड लगेज कम्पार्टमेन्टभित्र छिर्न पुगेका थिए। उनलाई विमानमा चढेका यात्रुहरूले त्यहाँबाट तल झारेका भिडियोमा देख्न सकिन्छ।

घटनापछि चालक दलले विमानलाई ब्राजिलको नातालमा डाइभर्ट गरेका थिए। त्यहाँको अलुइजियो अल्भेस अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरियो। त्यहाँ स्वास्थ्यकर्मीहरू उपस्थित भइसकेका थिए। घाइतेहरूलाई त्यहीँ उपचार गरिएको समाचारमा उल्लेख छ।

टर्बुलेन्सपछि बाहिरिएका तस्वीर तथा भिडियोमा जहाजमा क्षति पुगेको देखिन्छ। लगेज कम्पार्टमेन्ट भाँचिएको छ भने बस्ने सिटहरूमा पनि क्षति पुगेको छ। घाइते यात्रुमध्ये धेरैलाई पेटमा र अनुहारमा चोट लागेको छ।

एयर युरोपाले घटनाको पुष्टि गर्दै घाइते यात्रुको उपचार भइरहेको जनाएको छ। विमानमा भएको क्षतिको विवरण अझै आउन बाँकी छ।

किन हुन्छ एअर टर्बुलेन्स?
हवाई यात्रा गर्दै आएका मानिसहरूले विमान टर्बुलेन्समा फस्दा अकस्मात् हुत्तिएको र हल्लिएको अनुभव गरेका हुन्छन्। टर्बुलेन्सले उडिरहेको विमानलाई हल्लाइदिन र अकस्मात् उचाइ फेरिदिन सक्छ।

अधिकांश टर्बुलेन्स बादलमा उत्पन्न हुन्छ। बीबीसी वेदरका साइमन किङका अनुसार बादलभित्र वायुले तल वा माथि धकेलिरहेको हुन्छ। त्यसैलाई टर्बुलेन्स भनिन्छ। प्रायः वायुको त्यस्तो प्रवाह सामान्य खालको हुन्छ। यद्यपि मेघगर्जन गराउन सक्ने ठूला बादलहरूमा वायुको चर्को प्रवाह हुँदा मध्यम वा कडा टर्बुलेन्स उत्पन्न हुन सक्छ।

बादलबिनै पनि टर्बुलेन्स उत्पन्न हुन सक्छ। त्यस प्रकारको टर्बुलेन्सलाई 'क्लिअर एअर टर्बुलेन्स' भनिन्छ। देख्न र पत्ता लगाउन नसकिने हुँदा यस प्रकारको टर्बुलेन्स निकै समस्याकारक हुन्छ।

क्लिअर एअर टर्बुलेन्स 'जेट स्ट्रीम' अर्थात् तीव्र गतिमा बहेको वायुको आसपास उत्पन्न हुने उड्ड्यनविद् तथा विमानचालक गाइ ग्रेटन बताउँछन्। उनका अनुसार ४० हजारदेखि ६० हजार फीटको उचाइमा वायु त्यस्तो अवस्थामा रहन्छ।

"जेट स्ट्रीमको वायु र वरपर भएको वायुको गतिमा १०० माइल प्रतिघण्टाको भिन्नता हुन सक्छ," उनी भन्छन्। सुस्त गतिमा बहेको वायु र तीव्र गतिमा बहेको वायुका बीच जेट स्ट्रीम आसपास घर्षण हुँदा टर्बुलेन्स उत्पन्न हुन्छ। जेट स्ट्रिम पश्चिमबाट पूर्वतिर बग्ने हावाको द्रुत, साँघुरो प्रवाह हो जसले विश्वलाई घेरेको छ। 

ग्रेटनका अनुसार युरोपबाट अमेरिका जाने जहाजमा टर्बुलेन्सको समस्या धेरै हुन्छ। "यदि तपाईं युरोपबाट उत्तर अमेरिकातिर विमानमा जाँदै हुनुहुन्छ भने त्यस्तो अवस्थालाई पूरै छल्न निकै कठिन हुन्छ," ग्रेटन भन्छन्।