उत्तर प्रदेशमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशको हाथरसमा मंगलबार एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा २३ महिला र तीन बालबालिका र एक पुरुष रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

इटाहका वरिष्ठ प्रहरी उपरीक्षक राजेश कुमार सिंहका अनुसार पुलराई गाउँमा ठूलो संख्यामा मानिसहरू भेला भएको एक सत्संगमा भागदौड मच्चिएको हो। “इटाह अस्पतालमा २७ जनाको शव आइपुगेको छ। मृत्यु हुनेमा २३ महिला, तीन बालबालिका र एक पुरुष छन्,” उनले सञ्चारकर्मीसँग भने।

भीडभाडका कारण भागदौड मच्चिएको सिकन्दरा राव प्रहरी चौकीका एसएचओ आशिष कुमारले बताए। घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएको बताइएको छ। भागदौडको कारण खुल्न सकेको छैन। मृतकको संख्या बढ्न सक्ने प्रहरी अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिएका छन्।

उनले घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन र उचित उपचारको व्यवस्था गर्न पनि अधिकारीहरूलाई निर्देशन दिए। जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उनले निर्देशन दिए। अधिकारीहरूका अनुसार आगराका अतिरिक्त प्रहरी महानिर्देशक र अलिगढका डिभिजनल कमिश्नरको टोलीले घटनाको अनुसन्धान गर्नेछ।