गृहमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले गृहमन्त्रीलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहितको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।

काठमाडौँ– गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहित दायर भएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ। मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले रिट निवेदनलाई हेर्दाहेर्दैमा राखेको हो।

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्नुपर्ने मागसहित अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए। भट्टराईले रिट गृहमन्त्रीविरुद्ध मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गरेका छन्। ‘अनुसन्धान अभियोजनको जानकारी सम्बन्धमा’ जारी गरेको पत्रको कानूनी आधार नभएको हुँदा बदर हुनुपर्ने रिट निवेदकको माग छ।

रिटमा संवैधानिक तथा कानूनी आधिकारमा अल्पकालीन अथवा दीर्घकालीन असर पार्न सक्ने तथा फौजदारी न्याय प्रणालीलाई प्रभावित पार्ने निर्णय नगर्नू नगराउनू भनी महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयका नाममा प्रतिषेधको आदेश जारी गर्न पनि माग गरिएको छ।