म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल

बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि २६२ मिटर लामो पर्खाल निर्माण गरिएको छ।

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ। 

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले म्याग्दी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको हो। निर्माण कम्पनी सुप्रिम कन्स्ट्रक्सन सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा २६२ मिटर लामो पर्खाल निर्माण भएको जानकारी दिए। 

सो योजनाका लागि २०७९ फागुनमा १२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो। १८ महिनाको ठेक्का अवधि भएको योजना निर्धारित समयमै सकिएको हो। 

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसीसी र माथिल्लो भागमा ग्याबिन भरेर पर्खाल बनाइएको परियोजनाका इन्जिनियर नरजङ गुरुङले बताए। बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा २०० भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन्।

यहाँ यसअघि ४०० मिटर पक्की पर्खाल निर्माण भएको थियो।