गाजाका बालबालिकामा छालासम्बन्धी रोगको संक्रमण भयावह

प्यालेस्टाइन क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। तिमध्ये अधिकांश बालबालिका रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध शुरू भएयता प्यालेस्टाइन क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। संक्रमित हुनेमा अधिकांश बालबालिका र बुढाबुढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो। उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन।

“मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी रोगका कारण आफ्नो शरीरलाई स्थिर राख्न सक्दैन,” चिन्तित आमा एलवानले भनिन्।

बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेतो र रातो धब्बाहरू छन्। उसको टी–शर्ट मुनि यस्ता धेरै धब्बा छन्। उनी छालाको संक्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पिडित धेरै गाजावासीहरूमध्ये एक हुन्।

“हामी भुइँमा सुत्छौँ, बालुवामा सुत्छौँ, जहाँ कीराहरू बाहिर निस्कन्छन्,” एलवानले भनिन्। उनको परिवार मध्य गाजा शहर देइर अल–बलाहको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो।

एलवानको विचारमा संक्रमण अवश्यम्भावी छ। उनले भनिन्, “हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाउन सक्दैनौँ। त्यहाँ हात, खुट्टा र शरीर धुन र सफा गर्नको लागि चाहिने कुनै उत्पादनहरू छैनन्। यहाँ केही पनि छैन।”

आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे। तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन। सबै फोहोर र प्रदूषित बनेको छ।

“समुद्र सबै ढल हो। उनीहरूले बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,” उनले भनिन्।

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध शुरू भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका संक्रमणको भयाबह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन्।

देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको माहामारी नै छ। क्लिनिकमा दुई जना केटाहरूले आफ्नो हात, खुट्टा, ढाड र पेटमा दर्जनौँ ठेउलाका दाग र फोकाहरू र लुतो र यसले बनाएका घाउहरू देखाए।

औषधिको अभावमा ४३ वर्षीय हमिदले केटाहरूको छालामा ‘क्यालामाइन लोसन’ दल्दै उपचार गरिदिए। यो निको पार्नका लागि नभई शितलताका लागि गरिएको उपचार थियो। अन्य औषधि नभएपछि खास उपचार गर्न सम्मभव नभएको उनले बताए।

“तातो मौसम र सफा पानीको कमीले बालबालिकाको छालामा संक्रमण फैलिने गरेको छ,” उनले भने।

गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)का चिकित्सा संयोजक मोहम्मद अबु मुगाइसिबले एएफपीसँग भने, “बालबालिका भनेका खेलप्रिय र अन्जान हुन्छन्। उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोइकन खान्छन्।”

अबु मुगैसीबका अनुसार तातो मौसमले पसिना र फोहोर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको संक्रमणको सम्भावना लाई बढाउँछ। 

उनले भने, “मानिसहरू अहिले घरमा बसिरहेका छैनन्, उनीहरू बसेका स्थानमा सरसफाइको उचित व्यवस्था छैन।”

एमएसएफ चिकित्सकहरूले यस्तो बसाइका कारण लामखुट्टे तथा अन्य किराहरूको टोकाइबाट हुने ‘लेसमेनियासिस’ को सम्भावना बढ्छ। भद्रगोल बसाइमा यसले सबैभन्दा खतरनाक र घातक छालाजन्य समस्या ल्याउन सक्छ। फार्मेसिस्ट हमिदका अनुसार उनको टोलीले हालै एउटा अस्थायी विद्यालयको भ्रमण गरेको थियो, जहाँ १५० मध्ये २४ जना विद्यार्थीमा खटिराको समस्या थियो।

यस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा झाडापखालाका ४ लाख ८५ हजार बिरामी भेटिएका छन्। यसले महामारी निम्त्याउने जोखिम भएको विश्व स्वास्थ्य संगठनको चेतावनी छ।

संयुक्त राष्ट्रसंघले मंगलबार गाजामा करिब २४ लाख जनसंख्यामध्ये १९ लाख मानिस विस्थापित भएको जनाएको छ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट युद्ध शुरू भएको र यसको बदलामा इजरायलले गाजामा गरेको सैन्य कारबाहीका कारण गाजामा छालाजन्य रोगबाहेक अन्य संक्रमणजन्य समस्या पनि विकराल अवस्थामा रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।