कोरियाबाट ल्याइएका होलस्टाइन जातका गाई कमलामाई नगरपालिकाका किसानलाई दिइएको थियो। ती गाईले दैनिक ३६ लिटरसम्म दूध दिएपछि किसान मक्ख छन्। दैनिक चार पटकसम्म दुहुनुपर्ने उनीहरू बताउँछन्।
सिन्धुली– कमलामाई नगरपालिका–५ का भोला अधिकारीको पुर्ख्यौली पेसा गाई तथा भैँसीपालन हो। उनका हजुरबुबाको पालादेखि नै गोठमा चारपाँच वटा गाईभैँसी टुटेनन्। “हाम्रो निर्वाहमुखी पशुपालन हो। दूध खानलाई पाल्दै आएका हौँ। बढी भएको दुईचार लिटर बिक्री गर्थ्यौं,” उनी भन्छन्।
तर अब अधिकारीले पशुपालनमा फड्को मारेका छन्। धेरै दूध दिने पशु पाल्ने र आयआर्जनको मुख्य स्रोत बनाउने उनको उद्देश्य छ। उनको गोठमा अहिले होलस्टाइन जातको एउटा गाई छ। पाँच महिनाअघि ब्याएको उक्त गाईले दैनिक ३६ लिटरसम्म दूध दियो। अहिले पनि दैनिक ३० देखि ३२ लिटर दूध दिन्छ। स्थानीय जातका गाईले भन्दा ६ गुना बढी दूध दिएपछि उनी मक्ख छन्। यी गाई चारपटक दुहुनुपर्छ।
अधिकारीले २०७९ माघमा होलस्टाइन जातको गाईको ६ महिनाको बाछी गोठमा भित्र्याएका थिए। कोरियाका डेरी फार्म, किसान, विद्यार्थीलगायतले नेपाल सरकारलाई १०० वटा गाई र आठ वटा बहर प्रदान गरेका थिए।
कोरियामा पनि किसानले यही जातका गाई पाल्ने गरेका छन्। कोरिया युद्धपछि हेफर इन्टरनेशनलले त्यहाँका किसानलाई उन्नत जातका गाई प्रदान गरेको थियो। ती गाईबाट नश्ल सुधार गरेर देशव्यापी बनाइयो। यही कारण दूध उत्पादन बढेर कोरिया आत्मनिर्भर भएको छ। किसानले कोरिया सरकारलाई उपलब्ध गराएका गाई त्यहाँको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयमार्फत नेपाल सरकारलाई प्रदान गरिएको हो। त्यसका लागि कोरियामा हेफर इन्टरनेशनल कोरिया र नेपालमा हेफर इन्टरनेशनल नेपालले सहजीकरण गरेका थिए।
कोरियाबाट गाई र बहरको पहिलो खेप २०७९ पुस ७ गते जहाजमार्फत नेपाल ल्याइएको थियो। हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा. केशव साहका अनुसार कोरियाबाट ल्याइएका १०० बाछीमध्ये ८० वटा सिन्धुलीको कमलामाई नगरपालिकाका ५१ किसान परिवारलाई वितरण गरिएको छ।

पशु स्वास्थ्य सेवा विभागका अनुसार नौ वटा बाछी राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा लगायतका सरकारी निकायलाई दिइएको थियो। तीमध्ये एउटा ब्याइसकेको छ र बाँकी ब्याउने अवस्थामा रहेको पशु प्रजनन केन्द्र पोखराका प्रमुख डा. जगदीश पाण्डे बताउँछन्।
कमलामाई नगरपालिकामा वितरण गरिएका ८० गाईमध्ये सात वटा गत वर्षको लम्की स्किन महामारीले र दुई वटा उच्च ज्वरोका कारण मरे। बाँकी ७१ मध्ये ४० गाई ब्याइसकेका छन्। यी गाईले दिएको दूधको परिणामका कारण किसान हौसिएका छन्।
कमलामाई नगरपालिका–५ की यशोदा खतिवडासँग होलस्टाइन जातका दुई वटा गाई छन्। ती दुई वटै ब्याइसकेका छन्। दुई महिनाअघि ब्याएको एउटा गाइले दैनिक ३४ लिटर दूध दिन्छ। उनले यसअघि जर्सीलगायत स्थानीय जातका गाई पाल्थिन्।
अहिले पनि उनको गोठमा स्थानीय जातका गाई छन्। ती गाईले दिनमा आठ–नौ लिटर मात्र दूध दिने उनी बताउँछिन्। “स्थानीय जातका गाइले दिने दूधको तुलनामा झण्डै चार दोब्बर हुन्छ। धेरै गाई पाल्नुभन्दा धेरै दूध दिने थोरै गाई पाल्नु राम्रोे,” खतिवडा भन्छिन्, “उन्नत जातका ठूला गाईलाई राखेर बिस्तारै साना गाईलाई हटाउने योजना छ।”
सोही ठाउँका सुरुत्तोमप्रसाद अधिकारी चार वटा जर्सी गाईले दिने बराबर दूध एउटा होलस्टाइन जातको गाईले नै दिने बताउँछन्। उनले पाएका दुईवटै गाई ब्याइसकेका छन्। “चारवटा गाईले दिने दूध एउटा गाईले दिएको छ। धेरै गाई पाल्नुभन्दा किसानका लागि राम्रो र थोरै गाई पाल्नु ठीक छ,” उनी सुनाउँछन्।
स्थानीय जातका दुई वटा गाईले खाने घाँस, पराल र दाना होलस्टाइन एउटै गाईलाई दिनुपर्ने किसान बताउँछन्। व्यावसायिक पशुपालन गर्ने किसानलाई उन्नत जातका गाई पाल्दा फाइदा हुने स्थानीय भोला अधिकारीको अनुभव छ। उनी भन्छन्, “धेरै दूध दिने थोरै गाई पाल्दा समय र जनशक्ति बचत हुन्छ। उन्नत जातको गाईले वर्षैभर जस्तो दूध दिन्छ। गत फागुनमा ब्याएको गाईमा बहर लागिसकेको छ।”
देशभर फैलाउने योजना
उन्नत जातका गाईलाई कृत्रिम गर्भाधान गरेर नश्ल सुधारमार्फत देशभर फैलाउने सरकारको योजना छ। पशु चिकित्सकसमेत रहेका हेफर इन्टरनेसनलका निर्देशक साहका अनुसार शतप्रतिशत होलस्टाइन जातका साँढेको सिमेन (वीर्य) स्थानीय गाईमा लगाउँदा तीनदेखि चार पुस्तापछि शतप्रतिशत नश्ल सुधार हुन्छ। “देशभर गाई वितरण गरेर सम्भव हुन्न। नश्ल सुधार नै उन्नत पशु बनाउने उपाय हो,” साह भन्छन्।
राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका अनुसार त्यहाँ राखिएका ६ वटा साँढेबाट संकलन गरिएको सिमेन साउनदेखि वितरण गर्ने तयारी छ। त्यति बेला ल्याइएका होलस्टाइन जातका दुई वटा वयस्क साँढे राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा राखिएको थियो। ती साँढेबाट पनि ५० हजार डोजभन्दा बढी सिमेन संकलन भएको छ। यसरी संकलन गरिएको सिमेन विभिन्न पशु सेवा केन्द्रमार्फत गाईमा लगाइने प्रजनन केन्द्र पोखराका प्रमुख डा. पाण्डे बताउँछन्।

कमलामाईमा ५१ परिवारलाई हस्तान्तरण गरिएका गाईबाट जन्मिएका बाछी अन्य किसानलाई वितरण गरिने छ। राम्रा खालका बाछा भने सिमेन संकलनका लागि सरकारलाई हस्तान्तरण गरिने कमलामाई सामाजिक उद्यमी महिला दूग्ध सहकारीकी अध्यक्ष गुणकुमारी घिमिरे बताउँछिन्।
कोरियाबाट ल्याइएका उन्नत जातका गाईलाई कृत्रिम गर्भाधानमार्फत वंशानुगत सुधार गरी पाँच वर्षमा करिब १० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य छ। यसको व्यवस्थापन सहकारीमार्फत गरिने छ। त्यसका लागि कमलामाई सामाजिक उद्यमी महिला दूग्ध सहकारी संस्था गठन गरिएको छ।
सहकारी अध्यक्ष घिमिरेका अनुसार दूध संकलन गर्ने, उत्पादित दूधलाई बजारसम्म पु¥याउने, दूधबाट विभिन्न परिकार उत्पादन गरेर विविधिकरण गर्ने योजना छ। “सहकारी आफैँले दाना तथा घाँस बिक्री गर्छ। गाईको बीमा, उपचारलगायत सबै काम सहकारीकै माध्यमबाट हुन्छ, किसानलाई बाहिर जानु पर्दैन,” उनी भन्छिन्, “दीर्घकालीन रूपमा आफैँ सक्षम हुनका लागि सहकारी मोडलबाट जान खोजिरहेका छौँ। एकाधिकार तोड्नलाई पनि बलियो संरचनाको आवश्यकता छ।”
कोरियाबाट ल्याइएका गाई नब्याउँदासम्म बजारमा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ थियो। ती गाई ब्याएर उत्पादन बढेपछि दूध संकलन गर्ने निजी डेरीले मूल्य घटाएका छन्। त्यस कारण पनि आफ्नै संकलन केन्द्र आवश्यक रहेको उनी बताउँछिन्। उनका अनुसार ४० वटा होलस्टाइन जातका गाई ब्याउँदा ८०० देखि एक हजार लिटरसम्म दूध उत्पादन बढेको छ।
पाल्न सिकाउँदै कोरियन प्राविधिक
पशुलाई स्याहार गर्न, दाना खुवाउन, उपचार गर्न र गोठ व्यवस्थापनलगायतको ज्ञान दिन कोरियाबाटै पशु चिकित्सक तथा प्राविधिकहरू आएका छन्। नेपाली किसानहरूलाई गाई मात्र नदिएर आवश्यक पर्ने प्राविधिक ज्ञान र पशु उपचारको विधि व्यावहारिक रूपमै सिकाउन चिकित्सक र प्राविधिकहरू आएको हेफर इन्टरनेशनल कोरियाकी प्रमुख हेवन ली बताउँछिन्।
“कोरियादेखि यहाँसम्म आएर सधैँभरि समस्या समाधान गर्न सम्भव हुँदैन। हामी आवश्यक सम्पूर्ण ज्ञान यहाँका किसानलाई सिकाइरहेका छौँ,” उनी भन्छिन्, “यो दिगो समाधानको उपाय हो।”

गाईका लागि आधुनिक गोठ निर्माण गरिएको छ। घाँस, पानी र दाना खेर नजाने गरी बनाइएको गोठमा गर्मीमा पंखा तथा २४ घण्टा नै स्वच्छ पानीको व्यवस्था छ। गाई बस्ने ठाउँमा म्याट ओछ्याइएको छ भने पिसाब संकलन गर्ने व्यवस्था पनि छ। त्यसैगरी लामखुट्टेबाट बचाउन जाली लगाइएको छ।
स्थानीय किसानले पशुलाई दाना खुवाउने, त्यसको स्याहार गर्ने तरिकाबारे पनि सिकेका छन्। “पहिला बारीमा घाँस पराल हुँदा टन्न दिन्थ्यौँ। नभएको बेला कहिलेकाहीँ भोकै पनि हुन्थे,” किसान भोला अधिकारी भन्छन्, “त्यस्तो गर्नु गलत रहेछ। पेटमा बच्चा भएदेखि नै पशुलाई सन्तुलित रूपमा पौष्टिक आहारा दिनुपर्ने रहेछ।”
घाँसलाई काटेर हरियो र सुकेको मिलाएर पशुको उमेर र तौलअनुसार तौलेर मात्र दिने गरिएको अधिकारी बताउँछन्। गोठ निर्माण, घाँसको बीउ वितरणलगायत काममा कमलामाई नगरपालिकाले पनि लगानी गरेको छ।
नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउन उन्नत पशुपालनले सहयोग गर्ने बताउँछन्। उनका अनुसार अहिलेसम्म नगरपालिकाले किसानलाई ८५ लाख रुपैयाँ बराबर सहयोग गरिसकेको छ। “कमलामाईलाई नेपालकै नमूना डेरी भिलेज बनाउने हाम्रो प्रयत्न हो, त्यसकारण नगरपालिकाले किसानलाई सहयोग गरिरहेको छ,” उनी भन्छन्।
किसानले सिकेको ज्ञानले पशुपालनलाई सहज त बनाएको छ नै वनको क्षयीकरण र दाउरा बाल्दा हुने उत्सर्जन पनि कम हुने विश्वास गरिएको छ। पशुलाई सुधारिएको गोठमा कम घाँस लाग्ने र त्यसबाट घाँसमा जंगलको निर्भरता घट्ने सहकारीकी अध्यक्ष घिमिरे बताउँछिन्। “अहिले गाई पालेका घरमा गोबर ग्यास निर्माण भएको छ। यसले दाउरा खोज्न जंगल जानुपर्ने र ग्यास (एलपी) बाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ,” उनी भन्छिन्, “किसानले गाईको लागि आफ्नो बारीमा पनि विभिन्न डाले घाँस र छरुवा घाँस लगाउनुभएको छ। वातावणकै लागि पनि राम्रो भयो।”
सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु संरचना महासन्धि (यूएनएफसीसीसी)मा बुझाएको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) मा बुझाएको प्रतिवेदनमा सन् २०३० सम्ममा कुल भूभागको ४५ प्रतिशत जमिन वन कायम राख्ने र सुधारिएका गोठको संख्या पाँच लाख पुर्याउने लक्ष्य लिएको छ। स्थानीयस्तरमा निर्माण गरिने सुधारिएको गोठ निर्माणको कामले सरकारको लक्ष्यलाई सहयोग पुग्ने वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख बुद्धि पौडेल बताउँछन्।
जोखिमको भय
उन्नत पशुपालन गर्दा त्यसबाट प्राप्त हुने दूधले जति लाभ छ, जोखिमको भय पनि उत्तिकै छ। किसान सुरुत्तोमप्रसाद अधिकारीका अनुसार कति बेला गाई बिरामी हुन्छ थाहा नै हुँदैन। “एक्कासी ज्वरो आउँछ अनि थुनेलो हुन्छ। अचानक यस्तो हुन्छ, थाहा नै हुन्न,” उनी भन्छन्, “धेरै संवेदनशील छ।”
उनले पालेको एउटा गाई उच्च ज्वरोका कारण अन्तिम अवस्थामा पुगेको थियो। पशु चिकित्सकले उपचार गरेपछि निको भएको छ। सियोल डेरी सहकारीको पाजु डेरी क्लिनिकका डा. हुँगाक ली एउटा हावापानीमा हुर्केका गाईहरू फरक हावापानीमा आउँदा केही समस्या देखिएको बताउँछन्।
“यसपटक धेरै गर्मी पनि भयो, त्यसैले केही गाईमा उच्च ज्वरोलगायत समस्या देखिएको हो,” उनी भन्छन्, “हामीले सोचेभन्दा धेरै राम्रो र सफल भएको छ। यी गाईबाट जन्मेका बाछाबाछीमा कम समस्या देखिन्छ। किनभने यिनीहरू यहीँकै हावापानीमा जन्मेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
