मुकुल ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा रास्वपाका केन्द्रीय सदस्य

महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै सबै सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेका मनिष झाले बताए।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्यहरू महामन्त्री मुकुल ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा उभिएका छन्।

बुधबार बिहान महामन्त्री ढकालले बुझाएको समीक्षा प्रतिवेदनमा छलफल गर्न बसेको केन्द्रीय समितिको बैठकमा निषा डाँगीबाहेक सबै सदस्यले कारबाहीको माग गरेका हुन्। उनको व्यवहारप्रति असन्तुष्ट भएका कारण उनीहरूले कारबाहीको माग गरेको सहप्रवक्ता एवं सांसद मनिष झाले बताए।

महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै ती सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेको उनको भनाइ छ। 

"पार्टी सभापतिले यसरी कारबाही गर्न नहुने र गर्नैपरे यसको लागि निश्चित विधि र प्रक्रियाअनुसार हुनुपर्ने तर्क राख्नुभयो," सांसद झा भन्छन्, "बैठकमा अहिलेसम्म सबै बोलिसकेका छन्। अब उपसभापति र सभापतिको थप धारणा आउन बाँकी छ।"