महांकाल मन्दिर पुनर्निर्माण गर्दै महानगर

टेन्डरको प्रक्रिया टुंगिएसँगै यही असारबाट काम शुरू हुने काठमाडाैँ महानगरको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित महांकाल मन्दिरको पुनर्निर्माण गर्ने भएको छ। भूकम्पले मन्दिरको केही भाग चर्किनुका साथै पुरानो भएका कारण पुनर्निर्माण थालिएको महानगरले जनाएको छ।

महानगरको नियमित योजना अन्तर्गत सम्पदा जोगाउने उद्देश्यका साथ मन्दिरको पुनर्निर्माण शुरू हुन लागेको हो। यसका लागि महानगरले डिजाइन सकेर टेन्डरसमेत गरिसकेको छ। टेन्डरको प्रक्रिया टुंगिएसँगै यही असारबाट काम शुरू हुने महानगरको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।

मन्दिर पुनर्निर्माणको काम दुई वर्षभित्र सक्ने गरी महानगरले १० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

महानगरको अध्ययनबाट उक्त मन्दिर मल्ल्कालीन शैलीमा रहेको पाइएपछि पुरानै शैलीमा बनाइने छ। मन्दिर जीर्ण भएपछि पूर्वमेयर विद्यासुन्दर शाक्यको पालामै पुनर्निर्माण गर्ने योजना बनेको थियो। तर अध्ययन र डिजाइनमा समय लागेकोले समयमा शुरू हुन सकेको थिएन। अहिले डिजाइनको काम सकिएसँगै काम शुरू गर्न लागिएको विभागको भनाइ छ।

मन्दिरको पुनर्निर्माण हुने भएपछि मन्दिर परिसरमा रहेका सबै पसल एक साताभित्र हटाउन गत जेठ १ मै महानगरले ताकेता गरेको थियो। अहिले केही पसलहरू हटेका छन्। मन्दिर रहेको जग्गा गुठी संस्थानको हो। संस्थानले उक्त क्षेत्र व्यापारिक प्रयोजनमा लगाउँदै आएको थियो।