रास्वपाका महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

रास्वपाको अनुशासन आयोगको सिफारिसमा महामन्त्री एवं प्रवक्ता डा. ढकाललाई केन्द्रीय समितिले निलम्बन गरेको हो।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ।

पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो। बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो।

“केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उहाँलाई निलम्बन गर्ने  निर्णय गरिएको हो,” केन्द्रीय सदस्य सोविता गौतमले भनिन्, “तत्काललाई पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ।”

डा. ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो। बैठकमा उनले बैठकको प्रत्यक्ष प्रसारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा मास्कमाथि कालो टेप लगाएर आपत्ति जनाएका थिए। 

उक्त बैठकमा डा. ढकालमाथि  कारबाहीसम्बन्धी छलफलका लागि केन्द्रीय अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटालाई समेत बैठकमा आमन्त्रित गरिएको थियो।