सामाजिक सुरक्षा कोषमा ५७ अर्ब ५५ करोडभन्दा बढी योगदान रकम संकलन

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कोषले २०७६ साउन १ देखि योगदान रकम संकलन गर्न थालेको थियो ।

काठमाडौँ– सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या १४ लाख ५६ हजार नाघेको छ। योगदान ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ पुगेको कोषले जनाएको छ। 

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कोषले २०७६ साउन १ देखि योगदान रकम संकलन गर्न थालेको थियो । वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान गर्ने क्रम बढेसँगै रकम र सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको हो। जेठमा मात्रै दुई अर्ब ५२ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ। वैशाखसम्म ५५ अर्ब तीन करोड रुपैयाँ संकलन भएको थियो।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म योगदानबापत ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको थियो। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ।

कोषले सातवटै प्रदेशका स्थानीय तहसँग सम्झौता गरेर दायरा बढाउँदै लगेको छ।