मालीमा आतंककारी आक्रमण, २० जनाभन्दा बढीको मृत्यु

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेर आक्रमण गरेका थिए।

तस्वीर: एएफपी।

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा भएको आतंककारी आक्रमणमा २० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँका बासिन्दा र स्थानीय अधिकारीहरूले बुधबार यसको पुष्टि गरेका छन्।

“रातिको समयमा कातिबा मासिनाका दर्जनौँ आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए। अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारी) सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन्,” डुकुम्बोमा रहेका एक अधिकारीले भने।

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेका थिए। “विवाह उत्सवका क्रममा आक्रमण भयो, आक्रमणमा दुलहाको पनि ज्यान गयो,” अर्का एक स्थानीय अधिकारी बताए।   

सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाहरूबाट ग्रस्त छ।