खोटाङका ५०० भन्दा बढी परिवार बाढी पहिरोको उच्च जोखिममा

१० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका ३२० र पहिरोबाट ४३९ परिवारका एक हजार ७६१ जना उच्च जोखिममा रहेको प्रहरीको तथ्यांक छ। 

खोटाङ– खोटाङका ५०० भन्दा बढी र परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। १० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका ३२० र पहिरोबाट ४३९ परिवारका एक हजार ७६१ जना उच्च जोखिममा रहेको प्रहरीको तथ्यांक छ। 

उच्च जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताए। उनका अनुसार चारवटा स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ।

ऐसेखुखर्क गाउँपालिका–१ राखाबाङ्देल र वडा नं ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र वडा नं ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र वडा नं ९ सल्ले तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिला र ७ सुङ्देल बाढी तथा डुबानको उच्च जोखिममा छन्। 

उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ। विपद् आइपरेको खण्डमा उद्धार गरेर विद्यालय तथा सार्वजनिक भवनमा ६ हजार ८५५ जनालाई राख्न सकिने ठाउँ रहेको छ। 

मनसुनजन्य विपद् व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।