बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न प्रशासनको अपिल

म्याग्दी प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

फाइल तस्वीर

म्याग्दी– जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको हो।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचना बोर्ड राखिने उनले जानकारी दिए। “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दै छौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ”, प्रजिअ ढकालले भने। 

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ। मंगलबार रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीन जना यात्रुलाई सकुशल उद्धार गरिएको थियो। सडकखण्डअन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठूला पहिरो छन्। तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइँठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले जनाएको छ। गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी खर्च हुने बताइएको छ।

यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाई विपद्बाट हुनसक्ने क्षति, वर्षाको समयमा हुनसक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमसमेत गर्दै आएको छ। 

बेनीका घरघरमा स्वास्थ्यकर्मी
म्याग्दीको बेनी नगरपालिकाले ७० वर्षभन्दा माथि उमेरसमूहलाई लक्षित गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि शुरू गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार ७०० ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। नगरका प्रत्येक वडाका घरघरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठ नागरिकसँगै अन्य पनि लाभान्वित भएका छन्। 

ज्येष्ठ नागरिक, शारीरिक रूपमा अपांगता भएका तथा अशक्त तथा दीर्घरोगीलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बन्दै गएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकाको प्रमुखमा सुरत केसी र उपप्रमुखमा ज्योति लामिछानेसहित निर्वाचित भएपछि नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हो। 

विसं २०७८ को जनगणनाअनुसार बेनी नगरपालिकाको कूल जनसङ्ख्या ३२ हजार ६९७ रहेको छ। पुरुषको संख्या १५ हजार ३६१ र महिला १७ हजार ३३७ छन्। दश वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको छ। प्रत्येक महिना एक पटक बेनीका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी घरघरमा पुग्छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रम कार्यान्वयन गर्न कुल आठ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। सो कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अशक्त बिरामी प्रत्यक्ष रूपमा लाभान्वित भएका बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिए।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीका अनुसार उक्त  कार्यक्रमबाट करिब एक हजार सात सय ज्येष्ठ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।