प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित

संसदीय समितिले प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धका उजुरीकर्ताको धारणामा विचारविमर्श गर्न थप समय चाहिने भन्दै सुनुवाइ स्थगित गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ। 

संघीय संसद्, संसदीय सुनुवाइ समितिले मन्त्रिपरिषद्‍बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा थप परामर्श गर्ने भन्दै सुनुवाइ स्थगित गरेको हो। 

बुधबार उनीविरुद्धका उजुरीकर्तासँग छलफल गरेको समितिले बिहीबार प्रधानसँग छलफल गर्ने कार्यतालिका तय थियो। प्रधानविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि उनीहरूको धारणाका बारेमा थप विचारविमर्श गरी निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। प्रधानको संसदीय सुनुवाइका लागि अर्को मिति तय भइनसकेको उनको भनाइ छ।

“उहाँहरूले आफ्नो कुरा राख्नुभयो। जिज्ञासा धेरै थिए। अहिलेका लागि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिने भएकोले कुनै दिन भन्ने नतोकी अहिलेका लागि स्थगित भएको छ,” उनले भने।

निर्वाचन आयोगजस्तो संवैधानिक पदका लागि अनुमोदन गर्न पनि थप समय चाहिएको कारण बिहीबार निर्णय गर्न नसकिएको उनको भनाइ छ।

असार ७ गते समितिले प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन, १० दिनभित्र समितिमा आइपुग्ने गरी उजुरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो। त्यसपछि उनीविरुद्ध चार उजुरी परेका थिए।

गत असार २ गते संवैधानिक परिषद्ले प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरूप संसदीय सुनुवाइका लागि पत्राचार गरेको थियो।

यो पनि : यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रधान निर्वाचन आयोगको आयुक्तमा सिफारिस