आयुक्तले मिचेको सार्वजनिक जग्गा खाली गराउन खोज्दा मेयर चिरिबाबुलाई अख्तियारको ताकेता

अख्तियारले ‘२०७७ सालमा धापाखेलका बाढीपीडितलाई कार्यपालिकाको निर्णयबिना पैसा दिएको विषयमा बुझ्नुपर्ने’ भन्दै पत्र काटेर मेयर महर्जनलाई बयानमा डाकेको हो।

ललितपुर– ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित सार्वजनिक जग्गामा निर्मित संरचना हटाउन मेयर चिरिबाबु महर्जन बुधबार डोजर र नगरप्रहरीसहित त्यहाँ पुगे। त्यो ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी एक आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घर छ। अमात्यको घरले हडपेको सार्वजनिक जग्गा खाली गराउन मेयर चिरिबाबु त्यहाँ पुगेका थिए। 

बुधबार मेयर महर्जनले आफ्नै उपस्थितिमा हडपिएको सार्वजनिक जग्गामा निर्मित पर्खाल भत्काउन लगाए। त्यो पर्खाल चाकुपाटको सरस्वती मन्दिरको जग्गामा लगाइएको महानगरपालिकाको भनाइ छ। 

यो घटना भएको केही घण्टापछि, बुधबार नै मेयर महर्जनलाई अख्तियारले पत्र काटेको विवरण सार्वजनिक भयो। अख्तियारले महर्जनलाई बाढीपीडितलाई सहयोग गरेको विषयमा बुझ्नका लागि आफैँ उपस्थित हुन भन्दै सूचित गरेर पत्र काटेको छ। 

अख्तियारले ‘२०७७ सालमा धापाखेलका बाढीपीडितलाई कार्यपालिकाको निर्णयबिना पैसा दिएको विषयमा बुझ्नुपर्ने’ भन्दै पत्र काटेर मेयर महर्जनलाई बयानमा डाकेको हो।

अख्तियारको पत्रमा उल्लेख छ, “२०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल–२४ मा बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानि हुने काम गरेको भन्ने ब्यहोराको यस आयोगमा दर्ता भएको ... उजुरी अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले तपसिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।”

अख्तियारले महर्जनलाई असार २६ गते बिहान १० बजे ३ नम्बर गेटमा उपस्थित हुन भनेको छ।

चिरिबाबु भन्छन्– मिचेको जग्गा खाली गराउँदा पत्र
ललितपुर महानगरपालिकाका मेयर महर्जन भने आयुक्त अमात्यले मिचेको सार्वजनिक जग्गा खाली गराउन खोजेपछि अख्तियारले पत्र काटेको बताउँछन्। 

“चाकुपाटमा सरस्वती मन्दिरको देवस्थल छ, त्यसकै चार रोपनी सार्वजनिक जग्गाको बीचबाट पर्ने गरी उहाँ (आयुक्त अमात्य)ले बाटो खोल्नुभएछ। एकाएक दक्षिणतर्फ सार्वजनिक जग्गा मिचेर उहाँले किन बाटो खोल्नुभो भन्ने त थाहा भएन। तर त्यसपछि ज्यापु गुठी, उहाँहरूकै अमात्य गुठीका सदस्यहरूसमेत कम्प्लेन लिएर महानगरपालिकामा आउनुभयो,” उनले उकालोसँग भने, “हामीले बोलाउँदा उहाँ आउनुभएन, त्यसपछि उहाँका श्रीमान‍्लाई बोलाएर ७ दिनभित्र दक्षिणतर्फ बाटो खोल्नुको औचित्य के हो खुलाउनू भन्यौँ। उहाँले त्यसो गर्न नसकेपछि हिजो मात्र म आफैँ डोजर लिएर गएँ र त्यो बाटो तथा पर्खाल भत्काइदिएँ।”

त्यसलगत्तै अख्तियारको पत्र आउँदा आफू आश्चर्यचकित बनेको मेयर महर्जनले बताए। उनले बिहीबार दिउँसो १२ः४४ बजे अख्तियारको पत्र आफूले बुझेको उल्लेख गरे। अनौठो के भने उनले यो पत्र बुझेको केही समयमै अख्तियारले सचिवालयमा गरिएको नियुक्तिमाथि प्रश्न उठाएर अर्को पत्र पठाएको छ।

“धापाखेलमा पहिरो र बाढी जाँदा मैले सबै विधि पुर्‍याएर नगरसभाबाट निर्णय गराएर सहयोग बाँडेको हो। उहाँहरूले चाहिँ यसरी खर्च नगरेको भए हुन्थ्यो भन्नुभो। कहाँ के कमजोरी भेटाऊँ र गरौँ भने झैँ देखियो,” उनले भने, “योभन्दा पहिले यो विषयमा कहिले केही सोधिएको पनि थिएन।”