पाँचथरमा कुटपिटबाट १ जनाको मृत्यु, ३ घाइते

१५–२० जनाको समूहमा आएका व्यक्तिको कुटपिटबाट फिदिम–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पाँचथर– अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

अज्ञान व्यक्तिको कुटपिटबाट फिदिम–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी/झाँक्री) हेर्न गएका  दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए। 

घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो। उपचारका क्रममा दिनेशको शुक्रबार बिहान मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए। 

घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।