बेलायतमा लेबर पार्टीको फराकिलो जित, स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै

आमचुनाव भएका ६५० संसदीय सिटमध्ये सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीका नेता केयर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ।

केयर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ। 

बिहीबार सम्पन्न मतदानको मतदानको जारी मतगणनामा पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीले ६५० सिटमध्ये ४०६ सिट जितिसकेको छ। त्यस्तै, प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले ११२ सिटमा जित हासिल गरेको छ। सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ।

३२६ सिटको सीमा पुगेको घोषणा गर्नुअघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आमनिर्वाचनमा हार भएको स्वीकार गरेका छन्। लेबर पार्टीले यो आमचुनाव जितेको बताउँदै सुनकले नेता स्टार्मरलाई जीतका लागि बधाई दिएको स्काइ न्युजले जनाएको छ।   

बीबीसी, आईटीवी र स्काई न्युजले गरेको एक्जिट पोलले केही घण्टा अघि लेबरले ४१० सिटको शानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको संख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो।  

बेलायती जनताले गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै प्रधानमन्त्री सुनकले हानिको जिम्मेवारी लिने उल्लेख गरेका छन्। 

प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटेर चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ। यसले स्टार्मरलाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्ग प्रशस्त गर्नेछ ।

स्टार्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्य लन्डनमा सम्बोधन गर्दै बेलायती जनताले लेबर पार्टीलाई विस्वास गरेको बताए। “हामीले जित्यौँ। तपाईँले यसका लागि अभियान चलाउनुभयो, संघर्ष गर्नुभयो, र जितको अवस्था आइपुगेकाले परिवर्तनको अनुभूति छिट्टै हुनेछ,” उनले भने।