एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन्। 

बिहीबार एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका थिए। अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिए।

शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको र यस्तो बेलामा आफ्नो पार्टी माग भइरहेको बताए। “अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको छ। यस्तो बेला हाम्रो पार्टीको माग छ। अहिले कुनै पनि पार्टी एक्लै जान सक्ने अवस्थामा छैन। या त एउटा कित्तामा उभिनुपर्छ, या त अर्कोमा उभिनुपर्ने बाध्यता छ। यस बेला सहयोगीहरूको आवश्यकता परिरहेको छ। त्यस अर्थमा त्यसमा हाम्रो भूमिका छुट्टै छ।’

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको औँल्याए। नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। “नयाँ समीकरणमा सामेल हुने पार्टीसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ। कुन ढंगले अघि बढ्ने हो, कस्तो नीति लिने, कस्तो आकार ग्रहण गर्ने, पुरानो सरकार कहिले बिदा हुन्छ, यी सबै कुरा यत्तिकै निष्कर्षमा पुग्दैनन्। यसमा हाम्रो सहभागिता र भूमिका हुने भएकाले यसमा एकजुट भएर अघि बढ्नुपर्ने अवस्था छ,” उनले भने।