भोटेकोशी जलविद्युत‍्को स्ल्याब भत्किँदा पुरिएका १० कामदारको उद्धार, २ जनाको अवस्था अज्ञात

सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ।

तस्वीर : सशस्त्र प्रहरी

काठमाडौँ– सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुई कामदार हराएका छन् भने १० जनाको सकुशल उद्धार गरिएको छ।

जलविद्युत्‌ आयोजनाको ड–सेन्डर कभर स्ल्याबको माथिल्लो संरचना भत्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीले जनाएको छ।

ढलान भत्किएर पुरिएका १० कामदारको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनीहरूको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानी, सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।

सहप्रवक्ता थापाका अनुसार उद्धार गरिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ। अन्य सामान्य घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा लगिएको छ। संरचनाको तल्लो भागमा फसेका २ जनाको खोजी कार्य जारी उनले बताए।