रौतहटमा ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान

रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्।

रौतहट– रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

गौर–४ टिकुलियाका सुरज यादवको घाँटीनजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ। गौर नगरपालिका नजिकै सञ्चालनमा रहेको ट्युसन तथा कोचिङ सेन्टरका विद्यार्थीबीच झडप भएको खबर पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले ईशनाथ नगरपालिका–९ का २० वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका–९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको हो।

चार जनालाई पक्राउ गरे पनि एक जनाको संलग्नता नदेखिएपछि तीन जनाउपर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौर नगरपालिकाभित्र अनुमतिसमेत नलिएका ट्युसन तथा कोचिङ सेन्टर सञ्चालनमा रहेको यहाँका अगुवाको भनाइ छ। गौर नगरपालिकाको शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाईले समेत कुनै चासो नलिएको अभिभावकले गुनासो छ।