वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।  

काठमाडौँ– अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।  

वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ। स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। 

सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ। 

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।

पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको  सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि यातायात सेवा ठप्प छ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ। डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए। 

यसैबीच मध्यमहाडी राजमार्गअन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो। अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ। 

यस्तै, भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यसैगरी, कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण शनिबार बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ।

पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्। सडक  खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए। 

पहिरोले बेसीँसहर चामे सडक पनि अवरुद्ध भएको छ। यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट पहिरो आउँदा पूर्ण रूपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन्। चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मंगलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको उनको भनाइ छ। 

दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले शनिबार बिहान उक्त डाइभर्सन बगाएको हो। सो ठाउँमा अहिले आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ।  

वीरगन्जको विभिन्न ठाउँ डुबानमा 
वर्षाका कारण पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन्।

पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ। जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचालन गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए। डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ।

वर्षा भएपछि यहाँका किसान भने खुशी भएका छन्। पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुशी भएका हुन्। पर्सामा कुल ५४ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा रहेको छ। यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ। 

यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी र मधेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे। 

“साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ,” उनले भने। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधि लगायतसँग छलफल भइरहेको बताए।