हनुमन्तेको बाढीले भक्तपुरका विभिन्न बस्ती डुबानमा

खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्य विनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ।

भक्तपुर– विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ।

भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्य विनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ। सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाको भनाइ छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन्। 

भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६५० घर बाढीको जोखिममा छन्। चाँगुनारायण, सूर्य विनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।