काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरी गस्ती

बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

भक्तपुरको सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको हनुमन्ते खोलाको बाढी। तस्वीर: रासस

काठमाडौँ– अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि बस्तीमा बाढी पस्ने जोखिम बढेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए। “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ,” उनले भने। 

बागमती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा प्रहरीले गस्ती गरिरहेको उनको भनाइ छ। तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए। 

उनले भने, “यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेबित्तिकै परिचालन हुन्छन्।” वर्षाका कारण शनिबार देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ।