अविरल वर्षाबाट उपत्यकाको जनजीवन प्रभावित

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– गए रातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ। 

यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ। 

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २०  विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमान्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृह मन्त्रालयमा आपत्कालीन बैठक बसेको छ। 

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।    

उपप्रधानमन्त्री लामिछानेले ‘कमान्ड पोस्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे। 

“हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आम नागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन। क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्त्वपूर्ण हुन्छ,” गृहमन्त्री लामिछानेले भने, “हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ।” 

उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए।

बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति रहेको थियो।