मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार विश्वासको मत पाएपछि प्रदेशसभा सदस्यलगायतका नेताहरूसँग। तस्वीर : अमरेन्द्रकुमार यादव÷रासस

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा उपस्थित १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। 

३४ जना सांसदले भने उनको प्रस्तावको विपक्षमा मतदान गरे। १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मतका लागि ५४ सांसदको मत चाहिन्छ।

मुख्यमन्त्री सिंहलाई जनमतसँगै नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए भने जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीसहितका दलले उनको प्रस्तावको विपक्षमा मतदान गरे।

संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार शनिबार उनले विश्वासको मत लिएका हुन्।

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा सिंहले बहुमत सांसदको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए। 

प्रदेश प्रमुख सुमित्रा भण्डारीले जेठ २५ गते जनतम पार्टीका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।