स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ५ घाइते

बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा शनिबार दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

स्याङ्जा– स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो।

बिरुवा गाउँपालिका–६ माझकोटका ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

पहिरोको जोखिममा रहेको आफ्ना घरबाट सुरक्षित स्थानमा गएका थिए। यद्यपि उनीहरूले सुरक्षित ठानेको स्थानमै पहिरो गएपछि पुरिएर ज्यान गएको हो। उनीहरूको घरनजिक शनिबार बिहान पहिरो खसेको थियो।

बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो। उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन्। उनीहरूको स्थानीय बासिन्दा र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो।