बाढी, पहिरो र डुबानमा देशभर ८ जनाको मृत्यु, ६ बेपत्ता

विपद्जन्य घटनामा परेर ६ जना बेपत्ता तथा सातजना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ।

काठमाडौँ– भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा आठजनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन्। सातजना घाइते भएका छन्।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिए। तनहुँ, गुल्मी ओखलढंगामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भारी वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएका छन्।