जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन्।

बझाङ– वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन्। सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए। 

बझाङ–बैतडीको सिमाना भए पनि बैतडीको खोड्पे नजिकै पहिरो गएकाले पहिरो हटाउन सहजीकरण र सहयोग गर्न बैतडी प्रशासनलाई अनुरोध गरिएको उनले बताए। 

जयपृथ्वी राजमार्गअन्तर्गत मालालाग्ने भीरमा पनि पहिरो गएकाले स्थानीय तहसँग जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ।